सिंगलमा नकुल छेत्री अनि डबलमा महेश थापा र मणिराज राई च्याम्पियन
खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा दुई दिवसीय क्यारम प्रतियोगिताको समापन भएको छ। स्व धर्मे तामाङ मेमोरियल विजेता ट्रफी अनि स्व शोभा तामाङ मेमोरियल उप विजेता ट्रफीको साथमा खरसाङमा क्यारम प्रतियोगिता सम्पन्न भएको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त दुई दिवसीय क्यारम प्रतियोगितामा डबल र सिंगल गरेर दुईवटा क्याटोगरीमा खेलाइएको थियो। उक्त क्यारम प्रतियोगिताको डबलमा ६० जना अनि सिंगलमा ३२ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए। हिज २५ जूनदेखि शुरु भएको उक्त प्रतियोगिता अन्तर्गत पहिलो, दोस्रो र तेस्रो राउण्डको खेलहरू हिजो खेलाइएको थियो भने आज क्वाटर फाईनल, सेमी फाइनल र फाइनल खेल सम्पन्न गरिएको थियो। यस क्यारम प्रतियोगिता अन्तर्गत डबलमा महेश थापा र मणिराज राईको जोडीले निर्मल गुरुङ र ललित सेवाको जोडीलाई फाइनलमा पराजित गरेर उपाधि जितेको थियो। त्यसरी नै सिंगलमा नकुल छेत्री विजेता बनेका छन् जसले फाइनलमा ललित सेवालाई पराजित गरेको थियो। यस खेलमा विजेतालाई स्व धर्मे तामाङ मेमोरियल विजेता ट्रफिसहित नगदराशि ८,००० र उप विजेतालाई स्व शोभा तामाङ मेमोरियल ट्रफिसहित नगदराशि ६,०० अनि सिंगलमा विजेतालाई ट्रफिसहित नगदराशि पाँच हजार र उप विजेतालाई नगदराशि तीन हजारसहित ट्रफी प्रदान गरिएको छ। त्यसरी नै सेमी फाइनलमा पुगेका प्रतियोगीहरूलाई पनि ट्रफी र पारितोषिक वितरण गरिएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सम्पन्न दुई दिवसीय क्यारम प्रतियोगिताको पहिलो दिन स्व धर्मे तामाङ र स्व शोभा तामाङको तस्वीरमा धुप दिप प्रज्वलन गरी थालिएको थियो। यस अन्तर्गत स्व धर्मे तामाङकी पत्नी काइली तामाङको बाहुलीबाट शुरुवात गरिएको छ।

यस प्रतियोगिताको शुरुमा स्व धर्मे तामाङ र शोभा तामाङको परिवार पक्षका सदस्यहरू उपस्थित रहेका थिए। प्रतियोगिताको शुरुमा स्व धर्मे तामाङ र स्व शोभा तामाङको आत्मा शान्तिको लागि मौन प्रार्थना पनि गरिएको थियो। पहिलो दिनको कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको संरक्षक टीटी लामा, एसबी सुनवार, सभापति मोहन योञ्जन आदि उपस्थित रहेका थिए। यस प्रतियोगितामा भाग लिने तथा दर्शकहरूलाई पनि स्व धर्मे तामाङ र स्व शोभा तामाङको परिवार पक्षबाट दिवा भोजनको पनि व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ। यस क्यारम प्रतियोगिता विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको वार्षिक क्यालेण्डर अनुसार यो गत वर्ष झैं यसपाली पनि सफलतापूर्वक क्यारम प्रतियोगिता आयोजना गरिएको जानकारी गराएका छन्। उनले वार्षिक क्यालेण्डर अनुसार चारवटा इण्डोर खेलहरू आयोजना गरिएको जसमा क्यारम, चेस, ब्याटमिन्टन र टीटी रहेको अनि यसपाली क्यारम प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।