खरसाङ: यसपालीको ग्राम पञ्चायत चुनावमा महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको २५९ नम्बर बुथमा चारजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। सिविटार चियाबारीको बुथ नम्बर २५८ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनिका तामाङ निर्विरोध रहे पनि सिविटार चियाबारीको बुथ नम्बर २५९ मा भने कड़ा प्रतिस्पर्धा देखिएको छ। सिविटार चियाबारीको यस बुथमा पञ्चायत सदस्यको चुनावरो लागि चारजना प्रार्थीहरू चुनाव मैदानमा रहेका छन्। चारजनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा युवा राजीव तामाङ रहेका छन् भने भारतीय जनता पार्टीको प्रार्थीको रुपमा योगेन्द्र छेत्री रहेका छन्। त्यसरी नै यस बुथमा दुईजना निर्दलीय प्रार्थीहरू क्रमैले सत्यवान छेत्री र रोमा प्रधान रहेका छन्। २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका अनि जेलसम्म पनि परेका एक समयका सक्रिय राजनीतिज्ञ सत्यवान छेत्री अहिले कुनै पार्टीसित सम्बन्धित छैनन् अनि उनी निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका छन्। त्यसरी नै स्वनिर्भर दलमा रहेर नारी उत्थानको लागि कार्य गरिरहेका नारी रोमा प्रधान पनि निर्दलीय प्रार्थीको रुपमा चुनाव मैदानमा उत्रेका छन्। यस चुनावमा भारतीय जनता पार्टीले भाजपासित सम्बन्धित व्यक्ति तथा युवा सचेतक योगेन्द्र छेत्रीलाई टिकट दिएर प्रार्थी बनाएका छन्। पहाडको सत्तारूढ दलमा रहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी राजीव तामाङ आफै पञ्चायत कार्यसितै सम्बन्धित रहेका छन्। सिविटारको यो बुथमा चारैजना प्रार्थीहरूले आफ्नो आफ्नो जीतप्रति आशावादी रहेको र पञ्चायत सदस्यको रूपमा निर्वाचित भएको खण्डमा जनताको लागि कार्य गर्ने र गाउँ घरको विकास गर्ने प्रतिबध्दता जाहेर गरेका छन्। यसै क्रममा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी राजीव तामाङले आफुले ग्राम पञ्चायतसितै जोडिएर काम गरेको कारणले गर्दा साथै जीटीएको सत्तामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रहेकोले काम गर्न सुविधा हुने र जनताको लागि काम गर्न तयार रहेको बताएका छन्। उनले गाउँ घरको सर्वाङ्गीन विकासको लागि कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। उनी चारजना प्रार्थीहरूमध्ये सबैभन्दा युवा हुन्। त्यसरी नै भारतीय जनता पार्टीको प्रार्थी योगेन्द्र छेत्रीले समाज र गाउँ घरको विकास र जनताको विभिन्न समस्याहरू समाधान गर्नलाई कार्य गर्ने बताएका छन्। उनले आफु पञ्चायत सदस्य बनेको खण्डमा रचनात्मक राजनीति गर्ने बताउँदै जनताले आफुले आशा गरे अनुरूप भोट दिएर जिताउनेछ भनी आशा व्यक्त गरेका छन्। सिविटारको निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका सत्यवान छेत्रीले कुनै राजनैतिक पार्टीको झण्डा र नेताको अनुहार हेरेर होइन तर आफ्नै बलबुँदामा नै चुनाव लड्ने र गाउँको विकास गर्न सक्ने योग्य व्यक्तिलाई नै भोट दिएर जिताउने आह्वान् गरेका छन्। निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका नारी प्रार्थी रोमा प्रधानले गाउँको समानता, सशक्तिकरण र स्वतन्त्रताको लागि काम गर्ने र गाउँ घरको विकास कार्य गर्नलाई आफु निर्दलीय प्रार्थीको रुपमा चुनावमा खड़ा भएको बताइन्। उनले आफु स्वनिर्भर दलका रहेर कार्य गरिरहेको कारणले आफु जनताको सेवा गर्ने पनि बताइन्। सिविटार चियाबारीको बुथमा प्रतिद्वान्दिता निक्कै कड़ा हुने देखिएको छ। तर जनताले कसलाई भोट दिएर जिताउने हुन् त्यो देख्न लायकको रहेको छ।