गान्तोकः सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सत्तारूढ़ एसकेएम पार्टीमाथि सीएपीका प्रमुख समन्वयक गणेश राई विरूद्ध षड़यन्त्र रचेको आरोप लगाएको छ। सीएपीको बढ्दो रफ्तारलाई घटाउन वर्तमान सरकारले गणेश राई विरूद्ध षड़यन्त्रपूर्वक झुटा मुद्दाको साहारा लिएको आज जारी प्रेस विज्ञप्तिमा बताएको छ।
सीएपीले विज्ञप्तिमा भनेको छ, यो विषय सरकारको कायरता बाहेक अरू केही होइन। सिटिजन एक्सन पार्टी-सिक्किम सुधारको राजनीति गरेर सिक्किमको बिग्रिएको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक लगायत सम्पूर्ण विषयलाई सुधार गरेर सिक्किमलाई एउटा सम्पन्न सक्षम र आत्मनिर्भर राज्य निर्माणको दिशामा काम गर्ने राजनीति गरिरहेको छ। सिक्किमेली नागरिकहरूको उर्लदो जनसमर्थन देखेपछि आज वर्तमान सत्ता अत्तालिएको स्पष्ट छ। त्यस कारण सिटिजन एक्सन पार्टी-सिक्किमका नेता गणेश राईलाई झुटा मुद्दा र अनेक थरी लाञ्छना लगाउने प्रयास भइरहेको छ। यसको सिटिजन एक्सन पार्टी-सिक्किम घोर निन्दा र भर्त्सना गर्दछ।
सीएपीले अघि भनेको छ, जब-जब सत्ताको विरुद्धमा आफ्नो हक-अधिकार रक्षाको निम्ति जनता सङ्गठित हुन्छन् तब-तब सत्ताले नयाँ-नयाँ प्रपञ्च र षड्यन्त्र रच्छ अनि जनताको पक्षमा बोल्नेहरुलाई झुटा मुद्दाहरुमा फसाएर जनताको आन्दोलनलाई कमजोर बनाउँने असफल प्रयास गर्छ। तर त्यो सत्ताको तिगडमले जनताको आन्दोलन कमजोर हुदैन बरु निरंकुश सत्ताको जनविरोधी चरीत्र अझ उदाङ्गो भएर जान्छ। उसको असली रुप अझ छर्लङ्ग हुन्छ भने जनताको आन्दोलन अझ मजबुत र सशक्त भएर जान्छ।
सीएपीले भनेको छ, अहिले घरी सिटिजन एक्सन पार्टी-सिक्किमका नेता तथा प्रमुख समन्वयक गणेश राई अनि सिटिजन एक्सन पार्टी-सिक्किमको बढ्दो कदमलाई रोक्न वर्तमान सरकारले अनेकौं प्रपञ्चहरु रचेर लागिपरेको छ। सिटिजन एक्सन पार्टी-सिक्किमको बढ्दो लोकप्रियता वर्तमान समयको माग हो। अनि सत्ता विरुद्ध जनताको आक्रोष हो। सत्ताले जति-जति आन्दोलन रोक्ने प्रयास गर्छ उति नै उसको कुरुप अनुहार जनताको अगाडी उदाङ्गो भएर जान्छ। सीएपीले वर्तमान सरकारले आफू विपक्षमा हुँदा सत्ताले गरेको व्यवाहार स्मरण गर्न र आफूले जनतालाई दिएको वादाको समीक्षा गर्न सुझाउ पनि दिएको छ।










