होमस्टे चलाउनेलाई नोकर अनि चौकीदारको संज्ञा दिएर राजु विष्टले पहाडको आमा-दिदीहरुलाई अन्याय गरेका छन्: अनित थापा

IMG-20230624-WA0236.jpg

मंग्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले मङ्पूमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, “सय दिने कामको श्रमिकको पैसा रोक्ने भाजपा, सबैभन्दा ठूलो घोटाला पार्टी हो। श्रमिकहरुको पैसा रोक्यो भने पाप लाग्छ। श्रमिकहरुको पैसा रोकेर श्रमिकहरुलाई नै भ्रष्टाचारी बनाइदिए राजु विष्टले। वास्तवमा भ्रष्टाचार कसले गर्दैछ? श्रमिकहरुको पैसा रोक्नु चाहिँ पापको काम हो। पञ्चायत चुनाव जितेपछि पैसा दिन्छ भन्दैछ। जितेन भने चाहिँ श्रमिकको पैसा खाइदिने?”
राजु विष्टले हिजो मात्र मङपूमा होमस्टे चलाउनेहरुलाई नोकर अनि चौकीदारको संज्ञा दिएको भन्दै उक्त बयानमाथि आफ्नो दुःख प्रकट गर्दै थापाले भने, “हाम्रो पहाडमा होमस्टेकै कारण कमान, बस्तीतिर पर्यटन व्यवसायमा हाम्रा दिदी, दाज्यूहरु लागेका छन्। त्यही होमस्टे चलाउनेलाई नोकर अनि चौकीदारको संज्ञा दिएर राजु विष्टले पहाडको आमा – दिदीहरुलाई अन्याय गरेका छन्। सांसदको मुखबाट त्यस्तो बयान आउनु लाजको कुरा हो। पहाडको निम्ति होमस्टे रोजगारको विकल्पको रुपमा आएको छ।”
राजु विष्टको पीपीएसमाथि पञ्चायत चुनाउ अघि बैठक डाकिने बयानमाथि टिप्पणी गर्दै थापाले भने, “पहाडको जनताको डिमाण्ड गोर्खाल्याण्ड हो, पीपीएस होइन। राजु विष्टले पहिला पि पीपीएस के हो त्यो बताउनु पर्यो। राजु विष्टलाई नै पीपीएस थाहा छैन भने बैठक बसेर के हुन्छ?”
थापाले आफ्नो भाषणमा भने, “क्षेत्रीय दलको काँधमा चढेर बीजेपीले चुनाव लड्दैछन् तर क्षेत्रीय दलको उम्मेद्वार चाहिँ खोई?‌ भाजपाले पहाडमा आएर ताण्डव मच्चाउने काम नगरोस्। अधिकार पायो भन्दैमा मुखमा जे पायो त्यही बोल्नु मिल्दैन।”
उनले विमल गुरुङ अनि अजय एडवर्ड्सलाई इङ्गित गर्दै भने, “हाम्रो घरभित्रको राजनीति छ। तर घरभित्रको लडाइँमा बाहिरको पार्टीलाई भित्राएर क्षेत्रीयता मास्ने काम नगर्नु। यदि क्षेत्रीयता बचाउनु सकिएन भने हाम्रो गोर्खाल्याण्डको मुद्दा पनि हराएर जानेछ।”
उनले फेरि भने, “यसपालीको चुनाउ बीजीपीएमको जीतभन्दा पनि क्षेत्रीयता बचाउने अनि गोर्खाको अस्तित्व अनि किपट बचाउने चुनाउ हो।”
यसै कार्यक्रममा सभासद् प्रमोष्कर ब्लोनले भने, “हाम्रो संस्कृतिमाथि पनि बीजेपी खतरा हो। गठबन्धन चुनावको निम्ति मात्र हो भन्ने खुलस्त भै सकेको छ। चुनावको निम्ति मात्र एक हुने? गठबन्धनको उद्देश्य चाहिँ बीजीपीएमलाई हराउनु मात्र हो। दिल्लीमा बनाएको गठबन्धन चाहिँ के भयो? झुण्डमा स्याल हिँड्छ। सिँह एक्लै हिँड्छ।”
उनले राजु विष्टमाथि कटाक्ष गर्दै भने, “गोर्खाल्याण्डको प्रश्न गर्दा एमपीले कसले ट्रेनिङ गराएर पठायो पो भन्छ। पहिला सम्पूर्ण पहाडले कमल फूलमा भोट हाल्दा कुनै दिन भनेनौं त कसले ट्रेनिङ गर्यो भनेर?”

About Author

Advertisement