बर्मेकः सिक्किमका मुख्यमन्त्री पीएस गोलेले चार वर्षको अन्तरालमा सिक्किमे जातिलाई एक बनाउन सफल भएको बताएका छन्। पूर्व सरकारले २५ वर्ष सिक्किममका जात जातिलाई विभाजित गरेर सत्ता बचाउने काम गरेको थियो भन्ने आरोप लगाउँदै विभाजित जातिलाई एकजुट गराउन एसकेएमले लिएको संकल्प पूरा भएको उनले दाबी गरेका छन्।
पश्चिम सिक्किमको गेजिङ बर्मेकको मार्ताम स्थित श्रीरिजङ्गा उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित नौमति सांस्कृतिक तथा धरोहर केन्द्रको शिलान्यास समारोहलाई सम्बोधन गर्दै यस केन्द्रलाई विश्वका नेपालीको साझा धरोहर केन्द्र बनाउनुपर्ने आग्रह गरे। यस अवसरमा मुख्यमन्त्रीले सिक्किमे नेपाली जाति माथि लागेको विदेशीको कलंक हटाउन एसडीएफ सरकारले कुनै पहल नगरेको, तर यही मुद्दामा राजनीति गरेर चौकी बचाउने काम मात्र गरेको आरोप लगाए। तथापि एसकेएम सरकारले छोटो अन्तरालमा नै नेपाली जाति माथि लागेको विदेशीको कलंक हटाउन सफल भएको बताए।
उनले भने, ‘पूर्व सरकारले जाति विभाजन गरेर समाजमा दुश्मनी बढाएको थियो। कुर्सी हल्लिने डरले सिक्किमेली जातिलाई एक हुन् दिएन। डिभाइड एण्ड रुल पोलिसी अपनायो। तर हामीले समाज एक बनायौं, जातिमा लागेको विदेशीको कलंक हटायौं।’ नेपाली जातिमाथि लागेको विदेशीको कलंक हटाउने भन्दै राजनीतिक दल गठन गरेका पवन चाम्लिङले मुद्दा सकिए राजनीति नै सकिने डरले यस मुद्दामा २५ वर्ष कुनै काम नगरेको मुख्यमन्त्री गोलेले आरोप लगाए।
पूर्व मुख्यमन्त्री पवन चामलिङले केही दिनअघि दार्जीलिङमा गएर सिक्किम ‘असुरक्षित बनेको छ’ भनी दिएको बयानलाई मुख्यमन्त्री गोलेले खुलेर आलोचना गरे। आफू नौ वर्ष र नरबहादुर भण्डारी धेरै वर्ष विपक्षमा बस्दा एसडीएफ सरकारले धेरै प्रताडित गरेको, जान लिने प्रयाससम्म भएको थियो भन्दै तथापि आफूहरूले राज्य बाहिर गएर सिक्किमको बद्नाम नगरेको उनले बताए। तर पवन चामलिङमा सिक्किमप्रति माया नभएको कारण आज राज्य बाहिर गएर सिक्किमको बद्नाम गराउँदैछन् भन्दै पूर्व मुख्यमन्त्री चामलिङलाई मुख्यमन्त्री गोलेले “रुञ्चे“ र “कायर“ नेताको संज्ञा दिए। मुख्यमन्त्रीले भने, ‘पूर्व मुख्यमन्त्रीले राज्य बाहिर गएर सिक्किमको बद्नाम गराउॅंछन् भन्ने आशा राखेको थिइन्। तर राजनीतिक फाइदा लिन पवन चाम्लिङले सिक्किमको बद्नाम गराउँदैछन्।’
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले एसकेएम सरकारले अनुसूचित जातिको उत्थान र विकासका लागि गरेका विभिन्न कार्यबारे जानकारी दिए। उनले आमा, बहिनी योजनामाथि प्रकाश पार्दै आमा योजनाको धनराशि बढाएर ४० हजार प्रदान गर्ने र यो रकम दुई किस्तामा प्रदान गरिने बताए। दोस्रो नानी जन्माउने आमालाई शिशु सेवेका लागि एक वर्षसम्म प्रतिवर्ष पांच हजार रुपियाँ सहयोग राशि र तेस्रो नानी जन्माउनेलाई एक वर्षसम्म प्रति महिना दश हजार रुपियाँ प्रदान गरिने बताए। यस बाहेक मेरो रुख मेरो सन्तति योजना, पर्यटन विकासका लागि मेगा होमस्टे परियोजनाबारे पनि जानकारी दिए।
एसडीएफ पार्टीको सम्पूर्ण क्रान्ति दिवस समारोहका अवसरमा हिजो पवन चामलिङले २०२४ मा सरकारमा आए अस्थायी कर्मचारीलाई स्थायी बनाउन घोषणा गरेको विषयलाई हास्यस्पद बयान बताए। २५ वर्षको सरकारकालमा पवन चाम्लिङले अस्थायी कर्मचारीलाई न्याय दिन नसकेको बताउँदै पवन चाम्लिङको घोषणा बिरालोले मासु खादिन भने सरह रहेको बताए। चामलिङले भिजिलेन्स विभाग उठाउँछु भन्ने, पुरानो पेन्सन व्यवस्था फर्काउने भन्ने घोषणालाई पनि हास्यास्पद बताए।
अर्कोतिर चुनाउअघि नै एसकेएम सरकारले पुरानो पेन्सन व्यवस्था लागू गर्ने घोषणा पनि मुख्यमन्त्री गोलेले गरे। पवन चाम्लिङले घोषणा गरेको युनिभर्सल बेसिक इन्कम लागू गर्ने कुरा पनि केवल ढॉंटको विषय मात्रै हो भन्दै २५ वर्ष यस विषयमा एसडीएफ सरकारले के गर्यो? भन्ने प्रश्न राखे।
यस अवसरमा प्रत्येक निर्वाचन क्षेत्रमा ५०० परिवारलाई घर मरमतिको लागि दुई किस्तामा ५० हजार रुपियाँ दिने, प्रत्येक निर्वाचन क्षेत्रमा ५०० परिवारलाई च्यादर दिने, ग्रामीण क्षेत्रमा १६ हजार परिवारलाई इन्भर्टर दिने जानकारी गराए भने उत्तरेमा १०० पलङयुक्त अस्पताल बनाउने र अनुसन्धान गर्नेहरूको सुविधाका लागि सिक्किम अनुशासन केन्द्र स्थापना गर्ने घोषणा गरे।
कार्यक्रमको अवसरमा अखिल भारतीय नेपाली अनुसूचित जाति दार्जिलिङ शाखा समितिले नौमति सांस्कृतिक धरोहर केन्द्र स्थापनाको पहल गरिदिएकोमा मुख्यमन्त्री पीएस गोलेलाई अभिनन्दन जनाए।
हिस