सिलगढ़ी। आज एनजेपी रेल स्टेशनमा गुजरात निवासी सञ्जय श्रीवास्तवलाई लुटपाट गरेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार, सञ्जय श्रीवास्तव सिलगढ़ी कामको सिलसिलामा आएको थियो। आज तिनी एनजेपीबाट रेल चढ़ेर जान जेनेरल टिकट काटेर स्टेशनमा बसिरहेको समय एकजना अपरिचित व्यक्तिले तिनलाई आरक्षित टिकट गरिदिन सक्ने बहाना बनाएर स्टेशन बाहिर लिएर निस्किएको थियो।
उक्त व्यक्तिले तिनलाई ट्रक स्ट्यान्ड अघि लैजाँदा पछिल्तिरबाट दुईजना अज्ञात व्यक्तिहरु आएर तिनको घाँटी निचोर्दै तिनीसित भएको ९ हजार रुपियाँ नगद सहित मोबाइल र एटीएम कार्ड सबै थुतेर चम्पट कसेको थियो।घटना सम्बन्धमा पीड़ित सञ्जय श्रीवास्तवले एनजेपी स्टेशनमा लिखित अभियोग दर्ता गरेको बताईएको छ। पीड़ित सञ्जय श्रीवास्तवले तिनको ब्याङ्क एकाउन्टबाट ५ हजार रुपियाँ पनि निकालिएको अभियोग पुलिस समक्ष गरेका छन। यता अभियोगको आधारमा पुलिसले घटनाको छानबीन चलाईरहेको जान्नमा आएको छ।