पञ्चायत चुनाव पहाड़को लागि अवसर हो अनि गठबन्धनको जीत निश्चित छ: राजु विष्ट
खरसाङ: दार्जिलिङको भाजपा सासंद राजु विष्टले आज खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा पञ्चायत चुनावको लागि चुनाव प्रचार गरेका छन्। आगामी पञ्चायत चुनावको लागि भारतीय जनता पार्टी र गठबन्धन दलहरूका प्रार्थीहरूका समर्थनमा विभिन्न गाउँहरूका भ्रमण गरेका थिए। बिहान खरसाङ खण्डको गाड़ीधुराबाट आफ्नो यात्रा शुरु गर्दै खरसाङको सन्त मेरिज दुई र तीन ग्राम पञ्चायत अनि पाण्डु ग्राम पञ्चायत अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूको भ्रमण गरेका थिए। सांसद राजु विष्टले आज सन्त मेरिज ग्राम पञ्चायत तीन अन्तर्गत गाडीधुरा, दुधे, लङ्भ्यू,सातघुम्ती बस्ती तथा पाण्डु ग्राम पञ्चायत अन्तर्गत मकैबारी चियाबगानको कोदोबारी, फूलबारी, कैलापानी, चेप्टे गाउँको बुथहरूमा भ्रमण गरेका थिए। उनलाई यी क्षेत्रहरूमा स्वागत जनाइएको थियो। यसावधि उनले विभिन्न गाउँहरूमा गाउँलेहरूका विभिन्न गुनासोहरू र समस्याहरू सुनेका थिए भने समाधानको आश्वासन पनि दिएका छन्। सासंद राजु विष्टसित भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको सचिव सोनाम लामा, पेम्बा रिम्पोर्छे, गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामा लगायत गठबन्धन दलका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

खरसाङ खण्डको विभिन्न स्थानहरूका चुनावी भ्रमण गर्दै खरसाङको मकैबारी आईपुगेका सांसद राजु विष्टले पत्रकारहरूलाई सम्बोधन गर्दै पहाड़मा कति साल भोट हालेर पनि विकासको कार्यहरू नभएको बताउँदै यसपालीको पञ्चायत चुनावमा पनि गलत मान्छेलाई चुनेको खण्डमा यस्तै हुने भएकोले सही मानिस चुन्ने निवेदन गरेका छन्। उनले भाजपा र गठबन्धन दलहरूको प्रार्थीहरूलाई जिताउने आह्वान् गर्दै चुनावको समय कसैले धम्काउने कार्य गरे तत्कालै फोन गर्नु भनी आश्वासन दिएका छन्। सांसद राजु विष्टले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भने, पहाड़मा २३ सालपछि पञ्चायत चुनाव हुँदैछ त्यसैले यो पञ्चायत चुनाव पहाड़का मानिसहरूको लागि अवसर हो। जीटीएले पहाड़मा अहिलेसम्म कुनै विकास नगरेर केवल विनास गरेको छ र त्यही विनासलाई रोक्नलाई साथै बंगाल सरकारको हामी गोर्खाहरूप्रति हेर्ने दृष्टिकोणलाई हराउनुपर्छ। गाउँ गाउँमा पिउने पानी, बाटो, घर लगायत विविध विकासको लागि चुनाव जित्नुपर्छ। मनरेगाको पैसामा पहाड़मा धेरै भष्टचार भएको थियो तर अब नयाँ पञ्चायत सदस्यहरूमार्फत् जनतालाई मनरेगाको पैसा वितरण गरिनेछ। सांसद राजु विष्टले अघि भने, ‘यो पञ्चायत चुनाव पहाड़ बचाउने चुनाव हो। दार्जिलिङ किन्ने कोलकोतामा छ र यसको ठेका जीटीएले लिएको छ। दार्जिलिङ पहाड़ बेचिसकेको छ। अब गोर्खा युनाईटेड गठबन्धन भएको छ। जसले गर्दा सत्तामा हुनेलाई साह्रो छ। हामी कुनै पनि पार्टीको चुनाव चिन्ह र पार्टी हेर्दैनौं। तर सबै मिलेर गठबन्धनलाई जिताउनेछौं।’

आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा निर्विरोध रहेकोमा खुशी मनाएको विषयमा प्रतिक्रिया दिन्दै सांसद राजु विष्टले भने, निर्विरोध भएकोमा दार्जिलिङमा खुशी मनाएको छ। तर उनीहरूको जीत तेति नै हो। पञ्चायत चुनावमा गठबन्धनको जीत निश्चित छ।’