आयरल्याण्ड विरुद्ध पहिलो टी२०-मा भारत ७ विकेटले विजयी

२७ जूनः भारतले वर्षाले वाधा पुऱ्याएको पहिलो टी२० अन्तर्राष्ट्रिय म्याचमा आयरल्याण्डलाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले दुईवटा म्याचको टी२० सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। वर्षाले गर्दा लगभग अढ़ाई घण्टा ढिलो गरी शुरु भएको म्याचलाई १२-१२ ओभरको गरियो। यसमा आयरल्याण्डले पहिला ब्याटिंग गर्दै १२ ओभरमा ४ विकेट गुमाएर १०८ रन बटुल्यो। जवाफमा भारतले १०९ रनको लक्ष्यलाई खेदो गर्दै १६ बल बाँकी रहँदै ३ विकेटमा १११ रन बटुलेर सजिलै जीत हासिल गऱ्यो। लक्ष्यलाई खेदो गर्दै भारतको निम्ति ओपनर दीपक हूडाले सर्वाधिक अविजित ४७ रन बनाए। उनले २९ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक अन्य एक ओपनर ईशान किशनले ११ बलमा ३ वटा चौका र २ वटा चौकाको सहायताले २६ रन बनाए। कप्तान हार्दिक पाण्ड्या ३ वटा छक्का र एउटा चौकाको सहायताले १२ बलमा २४ रन बनाएर आउट भए। लक्ष्यलाई खेदो गर्दै भारतलाई ईशान किशनले आक्रामक शुरुवात दिलाए।

त्यसपछि आयरल्याण्डका पेस बलर क्रेग यंगले ईनिंग्सको तेस्रो ओभरको चौथो र पाँचौं बलमा ईशान र सूर्यकुमार यादव (०)-लाई लगातार आउट गरी भारतमाथि दबाउ सृष्टि गर्ने प्रयास गरे तर कप्तान हार्दिक र हूडाले तेस्रो विकेटको निम्ति ६४ रनको साझेदारी गरी टीमलाई जीतको नजिक पुऱ्याए। त्यसपछि रहल पहल औपचारिकता हूडा र दिनेश कार्तिक (अविजित ५)-ले मिलेर पूरा गरे।

यसअघि डबलिनको द भिलेज मैदानमा टस हारेर पहिला ब्याटिंग गर्ने आयोजक टीम आयरल्याण्डको शुरुवात निराशाजनक रह्यो। स्कोर २२ रन पुग्दासम्म त तीन विकेटको पतन भइसकेको थियो। शीर्ष क्रममा पल स्टर्लिंग (४), कप्तान एण्डी बिलबर्नी (०) र गेरेथ डिलेनी (८)-ले केही खास गर्न सकेनन्। खराब शुरुवातपछि आयरल्याण्डको ईनिंग्सलाई हेरी टेक्टरले उकासे। उनले पहिला विकेटकीपर लोरकान टकर (१८)-सँग चौथो विकेटको निम्ति ५० र जर्ज डकरेल (अविजित ४)-सँग ३६ रनको साझेदारी गरी टीमलाई असल स्कोरसम्म पुऱ्याए। टेक्टरले ६ वटा चौका र ३ वटा छक्काको सहायताले ३३ बलमा अविजित ६४ रन बनाए। कठ्यांग्रिने जाड़ोको पर्वाह नगरी आफ्नो ३ ओभरको स्पेलमा केवल ११ रन खर्च गरी १ विकेट हासिल गर्ने लेग स्पिनर युजवेन्द्र चहललाई प्लेयर अव् द म्याच चयन गरियो। यसबाहेक भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र अवेश खानले पनि १-१ विकेट लिए। यस म्याचमा युवा पेस बलर उमरान मलिकले पदार्पण गरे पनि आफ्नो छाप छोड़्न सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement