आध्यात्मिक ज्ञानमार्फत युवाहरूलाई सही मार्गमा डोहोऱ्याउन माउसेस-को पहल सराहनीयः मुख्यमन्त्री तामाङ

गान्तोकः मानव उत्थान सेवा समिति, सिक्किमको युवा प्रकोष्ठद्वारा पूर्व सिक्किमको रम्फूस्थित श्री हंस सुयश सत्सङ्ग धाममा आयोजित तीन दिवसीय आध्यात्मिक ग्रीष्मकालीन शिविरको आज समापन भयो। धाम परिसरमा आयोजित समापन समारोहमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि रहेका थिए। आज नै विश्व नशामुक्त दिवसको अवसर परेकोले कार्यक्रममा मुख्यमन्त्रीको विशेष उपस्थितिमा नशालु पदार्थको सेवनबाट टोड़ो बसेर सिक्किम राज्य र देशलाई नै नशामुक्त बनाउने उपस्थित युवाहरूलाई प्रतिज्ञा गराइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले आध्यात्मिक ज्ञान मार्फत युवाहरूलाई सही मार्गमा डोहोऱ्याउने मानव उत्थान सेवा समिति, सिक्किमको यो पहल अति सराहनीय रहेको बताउँदै समितिको युवा प्रकोष्ठलाई धन्यवाद दिए। युवाले कुनै समाज, राज्य र राष्ट्रलाई बनाउन सक्छ भने ध्वस्त पनि पार्न सक्छ भन्दै युवाहरूलाई सही दिशा दिन यस्ता शिविरहरू अत्यावश्यक रहेको उनले बताए। मानव उत्थान सेवा समितिले आफ्नो गुरू सत्पालजी महाराजको मार्गनिर्देशनमा जहिल्यै पनि समाजलाई सही दिशा दिने कार्य गर्दै आएको बताउँदै मुख्यमन्त्री गोलेले थाँतीमा रहेको पाकिममा निर्माणाधीन आश्रामको निम्ति धनराशि छुट्याएर आगामी 2023 भित्रमा निर्माणकार्य पूरा गर्ने घोषणा परि गरे। यसरी नै दक्षिण सिक्किमको नन्दुगाउँमा निर्माण भइरहेको आश्रमको निम्ति पनि सरकारले आर्थिक सहयोग प्रदान गर्ने बताए। यस तीन दिवसीय शिविरबाट युवाहरूले धेरै आध्यात्मिक ज्ञान प्राप्त गरेको कुरामा आफू विश्वस्त रहेको बताउँदै यसरी नै अन्य सङ्घ संस्थाले पनि युवाहरूलाई सही मार्गदर्शन गर्ने कार्यक्रमहरू आयोजना गर्नुपर्ने मुख्यमन्त्री गोलेले आह्वान गरेका छन्।

भक्ति सङ्गीतको साथमा आयोजित कार्यक्रममा महात्मा अदिना बाइजी र महात्मा अखिलेश बाइजीले सत्सङ्ग प्रस्तुत गरे। यसरी नै कार्यक्रममा युवामुखी कार्यहरूका निम्ति मानव उत्थान सेवा समिति, सिक्किमको युवा प्रकोष्ठद्वारा मुख्यमन्त्री पीएस गोलेलाई अभिनन्दन पनि जनाइयो।

कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, मन्त्री भीम हाङ् सुब्बा, विधायकद्वय श्रीमती सुनिता गजमेर र विष्णु कुमार खतिवड़ा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ साथै अन्यको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *