विभिन्न स्थानमा पालन गरियो नशालु पदार्थविरूद्ध सचेतना कार्यक्रम

गान्तोक। सोरेङ जिल्लाको जिल्ला प्रशासन केन्द्रमा आज इन्टरनेशनल डे अगेन्स्ट ड्रग्स अब्युज एण्ड इलिसिट ट्राफिकिङ पालन गरियो। यस कार्यक्रमको आयोजना सारथी संगठनद्वारा गरिएको हो। नशालु पदार्थमाथि सचेतना गराउने उद्देश्यले आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा स्टेट व्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरूङ रहेका थिए भने विशिष्ट अतिथिमा व्यासनन्द गुरूजी रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि गुरूङले जनसमुदायलाई लागु पदार्थको दुरुपयोग र राज्यमा यसको उन्मूलनका उपायहरूबारे आफ्नो विचार राखे। उनले समाज निर्माणमा एक व्यक्तिको कतिको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बारेमा पनि बताए। सोही प्रकारले सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आफ्नो सम्बोधनमा नशालु पदार्थ सम्वन्धि अभिभावकवर्गको भूमिका महत्व र “प्रेम” पुनर्स्थापना, संलग्नता र नशालु पदार्थ दुरुपयोग उन्मूलन गर्न सहयोग पुऱ्याउने विभिन्न उपायबारे जानकारी गराए।

यसै क्रममा पुलिस अधिक्षकले सोरेङका जनतालाई सम्बोधन गर्दै एनडीपीएस र साडा ऐनमार्फत नशालु पदार्थ उन्मूलन गर्ने उपायबारे बताए। उनले नशालु पदार्थको दुरुपयोग र प्रभावकारी प्रवर्तन एजेन्सीको रूपमा सामुदायिक संस्था र परिवारको भूमिकाबारे विभिन्न उपायहरू साझा गरे। यसरी नै मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा नशालु पदार्थको दुरूपयोग र अवैध कारोबारविरूद्ध अन्तराष्ट्रीय दिवस पालन गरियो। यस अवसरमा मंगन जिल्लाका महकुमा अधिकारी पेमा वाङछेन मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने पुलिस अधिक्षक टीएन ग्याछो लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। कार्यक्रममा पुलिस अधिक्षक ग्याछोले उपस्थित सबैलाई नशामुक्त भारत अभियानबारे शपथ ग्रहण गराए। शपथ ग्रहण पछि उनले विद्यार्थीहरूसँग नशालु पदार्थ सम्वन्धि अन्तक्रिया पनि गरे। उनले विद्यार्थीहरूलाई नशालु पदार्थको नकारात्मक प्रभावबारे सबैलाई सचेत गराउनु पर्ने आग्रह गरे। नशालु पदार्थको सेवनले मानिसको जिवनमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै यदि कोही पनि यसको शिकार बनेका छन् भने सहयोग गर्न तयार रहेको बताए.

About Author

Advertisement