प्रधानमन्त्री मोदीको कुशल नेतृत्वमा देश सही दिशामा अगाडि बढिरहेको छः नड्डा

bjpp_154

नाम्चीः नाम्चीमा आज भाजपाको नौं साल बेमिसाल कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा मुख्य अतिथिको रूपमा उपस्थित रहने प्रस्तावित थियो तर, प्रतिकूल मौसमका उनी उपस्थित हुन सकेनन्। यद्यपि, नड्डाले भर्चुअल माध्यमद्वारा जनतालाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा अध्यक्ष नड्डाले मौसम ठिक भए महिना दिनभित्र सिक्किम आउन प्रयास गर्ने बताए। प्रधानमन्त्रीका कार्यहरुको वर्णन गर्दै उनले प्रधानमन्त्री मोदीको कुशल नेतृत्वमा देश सही दिशामा अगाडि बढिरहेको बताए। भाजपा सरकारका केही योजनाहरूको विशेषतामाथि प्रकाश पार्दै उनले सिक्किम आएको समय यी विषयहरुमाथि विस्तृत रुपमा चर्चा गर्ने बताए।

यसरी नै भाजपा सिक्किम राज्य प्रभारी डा. दिलिप जैशवालले सिक्किमको विकासका लागि सिक्किममा भाजपाको सरकार गठन गर्न अनुरोध गरे। भाजपाले सिक्किमा सरकार गठन गरे तीन वर्षमा अस्थायी नोकरीलाई स्थायी गर्ने वचन दिए। भाजपाले सिक्किमको क्षेत्रीय भावनालाई सम्मान गरेर काम गर्ने बताउॅंदै सिक्किमका क्षेत्रीय पार्टीहरूले भाजपालाई सम्मान गरे, भाजपाले पनि सम्मान गरेर मिलेर काम गर्ने बताए। प्रधानमन्त्री मोदीका कार्यहरूलाई संसारले मान्ने गरेको बताउँदै विदेशमा गएर कांग्रेसका नेताहरूले देशकै बद्नाम गर्ने काम गरिरहेको उनले आरोप लगाए। विभिन्न संस्थाबाट राखिएका मागहरू केन्द्र सरकारसमक्ष राख्ने उनले आश्वासन दिए। उनले भाजपा शुरूदेखि नै धारा ३७१ एफलाई अक्षुण्ण राख्नुपर्छ भन्ने पक्षमा रहेको बताए।

यस कार्यक्रममा उपस्थित सबै सिक्किमकै भएका कारण भाजपा बाहिरको नभएर सिक्किमको पार्टी रहेको उनले बताए। भाजपा सरकारमा सिक्किमकै मुख्यमन्त्री र विधायकहरू हुने पनि उनले जनाए। भारत सरकारले सिक्किमलाई हरेक सुविधा उपलब्ध प्रदान गरिरहेको छ भन्दै सिक्किमले भाजपालाई पनि माया गर्नु पर्छ भने। उनले भाजपालाई माया गर्नु भनेको विधायक डीआर थापा र अन्य भाजपा विधायकहरूलाई माया गर्नु रहेको बताए। कार्यक्रमलाई सिक्किम भाजपा अध्यक्ष डीआर थापा, विधायक एनके सुब्बा, विधायक उर्गेन ग्याछो भोटियाले पनि सम्बोधन गरेका थिए। उल्लेखनीय छ, यस अवसरमा लगभग १०० जना भाजपामा सामेल भए। कार्यक्रममा सिक्किम सेवा सङ्कल्प नामक पुस्तक पनि विमोचन गरिएको थियो। कार्यक्रममा भाजपाका विधायकगण, पार्टीका वरिष्ठ कार्यकर्ताहरू आदिको उपस्थिति रहेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement