छैटौं युवा राष्ट्रिय बक्सिङ प्रतियोगिताको समापन

IMG-20230618-WA0322.jpg

जसलाल प्रधान बक्सिङ एकादमी स्थापना गर्नेः मुख्यमन्त्री तामाङ

गान्तोक: सिक्किम अमेच्युर बक्सिङ एसोसिएशन र बक्सिङ फडरेशन अफ् इन्डियाको संयुक्त पहलमा राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित छैटौं युवा राष्ट्रिय बक्सिङ प्रतियोगिताको आज समापन भयो। उल्लेखनीय छ, गत १३ जूनदेखि शुरू भएको उक्त प्रतियोगितामा देशका प्राय सबै राज्य र युनियन टेरिटोरियलका खेलाडीहरूले सहभागिता जनाएका थिए। सो प्रतियोगिताको उदघाटन राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरेका थिए भने समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले बक्सिङ क्षेत्रमा अतुलनीय योगदान पुऱ्याएका साथै अर्जुन अवार्डीले सम्मानित जसलाल प्रधानको योगदानको कदर गर्दै सिक्किम सरकारको तर्फबाट जसलाल प्रधान बक्सिङ एकाडेमी सिक्किममा स्थापित गर्ने घोषणा गरे। उनले यस प्रतियोगितासँग संलग्न सम्पूर्ण खेलाडी साथै संस्थाहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे। कुनै पनि प्रतियोगिताहरूमा सबै खेलाड़ीले जीत हासिल गर्न नसक्ने उल्लेख गर्दै हारबाट खेलाड़ीहरूले धेरै कुरा सिक्नुपर्ने सुझाउ दिए।

सिक्किमले यस प्रकारको कार्यक्रम आयोजना गर्नु पाउनु सिक्किमको लागि ऐतिहासिक रहेको उनले मन्तव्य प्रकट गरे। मनसूनको चुनौतीपूर्ण समयमा पनि सम्पूर्ण आयोजक पक्षको समर्पित योगदानको कारण यो कार्यक्रम आयोजना गर्न सफल बनेकोमा उनले खुशी प्रकट गर्दै आयोजक समितिलाई धन्यवाद दिए।वर्तमान सरकारले पूर्व सरकारको कार्यकालमा शुरू गरिएको र लथालिङ्ग अवस्थामा रहेका खेलसँग सम्बन्धित पूर्वाधारहरू निर्माण कार्य पूरा गर्न पहल गरेको मुख्यमन्त्रीले जानकारी गराए। खेलको सबै विधामा आयोजित प्रतियोगिताहरू आयोजन गर्न राज्य सरकारले सहयोग पुऱ्याउँदै आइरहेको जानकारी गराउँदै यो प्रतियोगिताको निम्ति राज्य सरकारको तर्फबाट ५० लाख, सिक्किम ऊर्जा लिमिटेडबाट २० लाख रुपियाँ प्रदान गरेको अवगत गराए। खेलकूदलाई जीवनको अभिन्न अंग बनाउन खेलाड़ीहरूलाई उनले आग्रह गरे।

तरुणदीप राईको नाममा आर्चेरी एकाडेमी स्थापित गर्न लागिरहेको उल्लेख गर्दै यसले गर्दा अन्य खेलाड़ीहरूलाई पनि प्रोत्साहन मिल्ने विचार व्यक्त गरे।

अर्कोतिर, आफूले राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरको खेलहरूको फाइनल कार्यक्रम प्रत्यक्ष रूपमा हेर्ने अवसरमा पाएको सम्झना गर्दै ती कार्यक्रमहरूमा मुख्य अतिथिले भाषण दिएको नदेखेको बताए। अबउसो खेलसँग सम्बन्धित कार्यक्रमहरूमा मुख्य अतिथिलाई भाषण गर्न नलगाउनुपर्ने आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख संरक्षक एवं मन्त्री सोनाम लामाले सिक्किम राज्यका एक मात्र खेलाड़ी फाइनलमा पुगे पनि मन सानो नपार्ने उल्लेख गर्दै युवा खेलाड़ीहरूले देशको नाम उज्ज्वल पार्ने कुरामाथि आफू विश्वस्त रहेको बताए। जसले जिते पनि देशको नाम रोशन हुनपर्छ भन्ने मन्त्री लामाले मन्तव्य प्रकट गरे। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको आशीर्वादमा सिक्किम राज्यले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन गर्न सफल बनेको उल्लेख गर्दै भविष्यमा योभन्दा राम्रोसँगले यस प्रकारको प्रतियोगिता आयोजन गर्ने उनले कटिबद्धता व्यक्त गरेका छन्।

सात दिवसीय यस राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिक्किम राज्यको आतिथ्य साथै आयोजन प्रबन्धनबारे मुग्धकण्ठले बक्सिङ फेडरेशन अफ् इण्डियाका प्रतिनिधिहरूले प्रशंसा गरेका छन्। सातै दिन प्रतियोगिता आयोजनलाई नजिकबाट हेरेका ओलम्पिकमा देशलाई प्रतिनिधित्व गरिसकेका पूर्व बक्सरहरूले सिक्किम राज्यले भविष्यमा ओपन अनि एशियन च्याम्पियनशीप आयोजन गर्नसक्ने प्रवल सम्भवना रहेको जनाए।

About Author

Advertisement