सोरेङ (पश्चिम सिक्किम): हिमाली राज्य सिक्किम अहिले भेल-पैह्रोको चपेटामा परेको छ। कयौं गाउँहरु सडक सम्पर्कदेखि काटिएको छ। धेरै ठाउँको स्थिति झनै भयावह छ। यता पश्चिम सिक्किमको सोरेङ र गेजिङ जिल्लामा पनि बर्खे पानी-झरीले आम नागरिकको जनजीवनलाई अस्तव्यस्त बनाएको छ। विषेश खोला किनारमा बसोबास गर्ने गाउँलेहरुको भोक-निद्रा छैन। भेल-पैह्रोको चपेटामा परेका गाउँलेहरुलाई सुरक्षित ठाउँतिर स्थानान्तरित गरिएका छन्।
दरमदिन समष्टिस्थित एनटीपीसी सालाङदाङमा रहेको विद्युत कम्पनी एनटीपीसीको क्वार्टर, मालवाहक टिप्पर, जेसीपी गाडी, मेसिन र कम्पनीका सर-सामग्रीहरु पुरेर क्षतिग्रस्त बनाएको छ। मुसलधारे पानीको कारण उर्लिएर आएको खोलाले एनटीपीसी सालाङदाङलाई एकप्रकारले तहस-नहस बनाएको छ। यहाँ भएको क्षयक्षतिको झट्टै अनुमान लगाउन सकिँदैन।
सोरेङ जिल्लाअन्तर्गत पश्चिम बंगाल र सिक्किमका ओखारे, च्याङ्बा गाउँसहित दर्जनौं ठाउँलाई जोड्ने नाकादहको पुललाई शनिबर राति नै बगाएर नामनिशानमेटाएको छ। सोरेङ जिल्लाका प्रायःजसो मुख्य सडक मार्गहरु अवरोधविहीन रहे तापनि सा-साना गाउँलाई जोड्ने दर्जनौं रोडहरु पैह्रोले अवरुद्ध छन्।
सम्बन्धित जनकार्य विभागको सक्रियतामा सडकमा झरेका सानोतिनो पैह्रोलाई हटाउने काम भइरहेको छ। शनिबार बेलुकी बौलाहाएको झरीले सोरेङ-च्याखुङ बजारको जल आपूर्तिमा बाधा पुर्यायो। रेङगेङस्थित पानीको मुहानलाई भेल-पैह्रोले नोक्सानी पुर्याउँदा जल आपूर्तिमा समस्या उत्पन्न भएको हो। सोरेङ जिल्लाका जनस्वास्थ्य अभियान्त्रिकी विभागले ग्राउण्ड जिरोमा कर्मचारी र श्रमिकहरु परिचालन गरि जल आपूर्तिलाई दुरुस्त पार्न निरन्तर काम गरिरहेको छ।
अर्कोतिर गेजिङ जिल्लाको देन्ताम-पेलिङ सडक मार्ग देन्ताम पुल नजिक सडक टुक्रिएर झर्दा वाहन आवतजावत ठप्प भएको छ। यो सडक मार्गलाई पुण: दुरुस्त बनाउन निकै समय लाग्नसक्छ। यद्यपि, मानेबुङ-देन्ताम क्षेत्रवासीले लामो बाटो रिञ्चेन्पोङ, रेसी भएर वैकल्पिक यात्रा गर्नसक्छन्।
राजधानी गान्तोकदेखि पल्लै छेउ गेजिङ जिल्लाका उत्तरेसहित वारीपारीका गाउँहरुमा भेल-पैह्रोले विध्वंस मच्चाएको छ। धेरै घर-परिवारलाई उठिबास लगाएको छ। शनिबार रातिको मुसलधारे पानीले भेल पैह्रो चलेर मानेबोङ देन्ताम क्षेत्र अन्तर्गत सिम्फोक बस्ती-ट्राउटफार्म, देविथाने, कुनाबार लिङ्गे बस्तीको घरहरु अनि धनपाले ट्राउटफार्म सबै पुरेर बिचल्ली बनाएको छ।
मान्छेहरुले भागेर ज्यान बचाए। गाई-भैंसी, भेड़ा-बाख्रा, सुंगुर, कुखुरा र ट्राउट माछाका फार्महरु पुरेर बिचल्ली परे। ट्राउट माछा पालकहरुलाई लाखौं रुपियाँको नोक्सानी भएको छ। त्यहाँका ट्राउट माछा पालकहरु पूर्ण बहादुर राई, गजेन राई, मिलन सुब्बा, एलएम सुब्बा, अशोक सुब्बा, दुर्गालाल राई, कमल राई, देउ कुमार राई, रुपधोज राई, निकास राई, दिलिप राई, मणि कुमार राई, सुनिता राई, खड्का बहादुर राई (ए) र खड्का बहादुर राई (बी)-को ट्राउट माछा फार्म भेल-पैह्रोले पूर्णरूपले क्षतिग्रस्त बनाएको छ।
उत्तरेदेखि सिम्फोक हुँदै सोपाखा कुमुकखोला अनि चिवाभञ्ज्याङ जाने सिम्फोक इसाङले खोलाको वाहन आवतजावत गर्ने पुल पनि बगाएर लगेको रिपोर्ट प्राप्त भएको छ। खेतीपाती अलपत्र पारेको छ। अहिले नै त्यहाँका क्षयक्षतिलाई सहि अनुमान लगाउन सम्बन्धित प्रशासनको लागि पनि असम्भव नै हो।
गेजिङ बर्मेकलाई जोड्ने श्रीथाङमा निर्माण गरिएको फलामे पुल शनिबार राति कलेज खोलाले बगाएको रिपोर्ट प्राप्त भएको छ। यस अतिरिक्त उक्त परिसरमा निर्माण गरिएको हाट सेट पनि खाेलाले बगाएको छ भने निलकण्ठ लगायत कलेज खोलाले छेउछाउ रहेको डेरा र स्थानीय मानिसहरुको जमीन र रुखपात जलप्रवाहमा समाहित भएको छ।









