गान्तोक: राज्यमा खेल अनि खेलाड़ीहरूलाई प्रोत्साहित गर्ने दिशामा पहल गर्दै राज्य सरकारले प्रत्येक समष्टिमा पाँच-पाँचवटा खेल मैदान निर्माण गर्ने भएको छ। यसको जानकारी आज राजधानीमा खेलकुद एवं युवा मामिला विभागद्वारा आयोजित अनुदान राशि वितरण कार्क्रमबीच मुख्यमन्त्री पीएस गोलेले दिएका छन्। कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित मुख्यमन्त्रीले सरकारले प्रत्योक समष्टिमा पाँच-पाँचवटा खेलमैदान निर्माण गर्ने घोषणा गरे।
समाजका नकारात्मक कुराहरूबाट जोगाएर युवाहरूलाई खेलमार्फत सही मार्गदर्शन देखाउने उद्देश्यले वर्तमान सरकारले निरन्तर पूर्वाधार विकासको कार्यमा लागिपरेको मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा बताए। नाम्चीको भाइचुङ स्टेडियम, सोरेङ स्टेडियमको निर्माण कार्य, क्योङ्सा मैदान निर्माण कार्य, सदाम, जोरथाङ मैदान, पाल्जोर स्टेडियमको नवीकरण, तरुणदीप आर्चेरी एकाडमी स्थापनाको पहल आदि यसको ज्वलन्त उदाहरण रहेको मुख्यमन्त्रीले बताएका छन्। यसको साथै विभिन्न खेल विधामा राज्यलाई अघि बढ़ाउन युवा खेलाड़ीहरू, खेलसँग संलग्न संस्थाहरू अनि विभागले पुऱ्याइरहेका योगदानको पनि उनले सराहना गरे।
आज जतिपनि युवा खेलाड़ीहरू छन् उनीहरू सबै विद्यार्थी रहेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले अन्तर विद्यालय प्रतियोगिता आयोजन गर्नुपर्ने विभागलाई आह्वान गर्दै यसको निम्ति एक करोड़ रुपियाँ धनराशि प्रदान गर्ने वचन दिएका छन्। आज विभागको तर्फबाट खेलकूद संघहरूलाई एक-एक लाख वित्तीय सहयोग प्रदान गरियो भने आगामी अनुपूरक बजेटमा कोष आवण्टन गरेर थप 3-3 लाख रुपियाँ प्रदान गर्ने मुख्यमन्त्रीले घोषणा गरे। योसँगै खेल विधामा केही गर्छु भन्ने खेलाड़ी अनि संघहरूलाई मुख्यमन्त्री विवेकाधीन कोषमार्फत पनि सहयोग गर्न आफू सधैं तत्पर रहेको मुख्यमन्त्रीले जानकारी गराए।

आजको कार्यक्रममा मन्त्रीद्वय सोनाम लामा, एमएन शेर्पा, खेल तथा युवा मामिला विभागीय सचिव राजु बस्नेत, सिक्किम फूटबल एसोसिएशनका कार्यकारी अध्यक्ष छुङछुङ भोटिया, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी लगायत अन्य एसोसिएशनका प्रतिनिधिगण र विभिन्न विद्यालयका प्रतिनिधि, खेलाड़ीहरूको उपस्थिति रहेको थियो।