‘आदिपुरुष’बारे रामायणका राम अरुण गोविलले कडा आलोचना

00-1-Adipurush-reaction-by-Arun-Govil

प्रभास, कृति सेनन र सैफ अली खानको फिल्म ‘आदिपुरुष’ १६ जूनमा रिलिज भयोl योसँगै मानिसहरुको प्रतिक्रियाको वर्षा भइरहेको छ। सामाजिक सञ्जालमा फिल्मलाई लिएर मानिसहरुले आ–आफ्ना धारणा राखिरहेका छन्। फिल्मलाई कतिपयले मन पराएका छन् भने धेरैले यसको भिजुअल र संवादमा आपत्ति जनाएका छन्। अब टीभीको सर्वाधिक रुचाइएको सिरियल रामानन्द सागरको ‘रामायण’मा भगवान रामको भूमिका निभाएका अरुण गोविल पनि आक्रोशित भएका छन्। अरुण गोविलले एबीपी न्यूजसँगको कुराकानीमा फिल्म ‘आदिपुरुष’बारे आफ्नो प्रतिक्रिया दिएका छन्। यस कुराकानीमा अभिनेताले भनेका छन्, ‘रामायण हाम्रा लागि आस्थाको विषय हो र यसको स्वरूपमा कुनै पनि प्रकारको छेडछाड अस्वीकार्य छl’ उनले रामायणलाई लिएर आधुनिकता र पौराणिक कथाको कुरा नितान्त गलत भएको पनि बताए। अरुण गोविलले भने, ‘फिल्मको स्पेशल इफेक्टको कुरा फरक छ, यहाँ पात्रलाई सही ढंगले प्रस्तुत गर्ने कुरा छ, जुन चिन्ताजनक छl’ यो कुराकानीमा अरुण गोविल निर्माताहरुप्रति रिसाए। प्रश्न उठाउँदै उनले राम, सीता वा हनुमानलाई आधुनिकता र पौराणिकताको ढाँचामा विभाजन गर्नु गलत भएको बताए। अभिनेताले भने, ‘यी सबै आदि र अनन्त पनि हुन्, यिनको रूप पहिले नै तय भइसकेको छ, त्यसोभए फिल्ममा एउटै रुप देखाउन के आपत्ति? मौलिक भावनामा छेडछाड गरेर निर्माताहरूले के प्रमाणित गर्न खोजेका थिए?’, उनले ठुलो प्रश्न गर्दै सोधे, ‘यदि निर्माताले यो फिल्म बालबालिकाका लागि बनाएका हुन् भने उनीहरूलाई सोध्नुहोस्, यो फिल्म मन पर्यो कि परेन?’

अरुण गोविलले आफैं पनि सधैं सभ्य भाषा प्रयोग गर्ने र त्यस्तो भाषा मन नपर्ने बताए। उनले भने, ‘म रामायणमा यस्तो भाषालाई समर्थन गर्दिन र रामायणलाई हलिउडबाट प्रेरित कार्टुन फिल्म जस्तो बनाउनु पचाउन नसकिने कुरा हो।’ फिल्मको पहिलो टिजर सार्वजनिक भएपछि निर्मातासँग कुरा गरेको पनि उनले बताए। निर्माताले उनको राय खोजे र उनले सल्लाह पनि दिए, जसलाई उनी अहिले चर्चा गर्न चाहँदैनन्। खेद प्रकट गर्दै अरुण गोविलले भने, ‘यो फिल्म बनाउने निर्माताहरुले के सोचेका थिए बुझिनl’ यसमा कलाकारहरुको गल्ती नभएको उनको भनाइ छ किनभने उनीहरुको चरित्र र लुक्स निर्माताहरुले नै तय गर्ने गरेका छन्।

About Author

Advertisement