खरसाङ: खरसाङको रोहिणीस्थित चिसोपानी गाउँमा सन्त माया फाउण्डेशनको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। उक्त स्वस्थ जाँच शिविरमा नक्सबारीबाट आएका डा एसएस राई अनि होली प्यालेस अस्पतालबाट उनको टोली उपस्थित रहेका थिए। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा जम्मा ४५ जना बिमारीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका थिए। उक्त शिविरमा सबैलाई नि:शुल्क रुपमा औषधिहरू पनि वितरण गरिएको थियो। खरसाङको रोहिणीमा भएको उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा सन्तमाया फाउण्डेशनको उप सभापति भरत राई, सचिव दानियल टी लामा, नोर्देन नोर्गे शेर्पा, पिटर थापा ‘कोशिष’, पावल लामा, एलिजाबेथ लामा, सुकु राई, राजेस शेर्पा र साईमन राई स्वयं सेवकको रुपमा उपस्थित रहेका थिए।

उक्त सन्तमाया फाउण्डेशन सिलगढीको खोलाचन्द फापरीको गैर सरकारी संस्था हो जसले विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको छ। यसै क्रममा खरसाङको रोहिणीस्थित चिसोपानीमा नि:शुल्क जाँच शिविरको आयोजना गरेको हो भने सन्तमाया फाउण्डेशनको आयोजनामा १७ जुनको दिन कुनै एक चियाबारीमा नानीहरूलाई स्कूलको ब्यागहरू र पानी झरीमा ओढ्नलई छाता लगायत अन्य सामाग्रीहरू वितरण गरिने भएको जानकारी सन्तमाया फाउण्डेशनको पक्षमा पिटर थापा ‘कोशिष’ ले जानकारी गराएका छन्।