कालचिनीः कालचिनी खण्डको उत्तर लोथाबारीमा स्थित कालचिनी मोडल स्कूलबाट माध्यमिक परीक्षा उत्तीर्ण भएर अब कक्षा १२ को निम्ति भर्ना हुन पर्ने विद्यार्थीहरूले नजीकै रहेको उत्तर लोथाबारी हिन्दी उच्चमाध्यमिक विद्यालय, कालचिनी हिन्दी उच्चमाध्यमिक विद्यालय एवम् बङ्गला माध्यममा भर्ना नपाएपछि ती विद्यार्थीका अभिभावकहरू बिचल्नीमा परेका छन्।
कालचिनी मोडल स्कूलमा प्रथम भाषा अंग्रेजी रहेकोले विद्यार्थीहरूले अंग्रेजी माध्यममा पढ़ने र दोस्रो भाषा बङ्गला रहेता पनि बङ्गला माध्यममा पढ़न गाह्रो पर्ने हुँदा हिन्दी र बङ्गला स्कूलले भर्ना लिने तर विद्यार्थीहरू आफ्नै योग्यतामा पढ़नु पर्ने भनिन्दा अभिभावकहरू असमञ्जसमा परेको बताईएको छ।
यता यस विषयमा शुक्रबार अभिभावकहरू कालचिनी बीडीओ समक्ष यस विषयलाई लिएर गुहार माग्न जाँदा बीडीओ प्रशान्त बर्मनले डीआईसित छलफल गरेर समाधान खोजिने जनाएका छन्।











