चमर्चीः चमर्ची वन बस्तीस्थित नव युवा संघ क्लबको नयाँ भवन निर्माणको आज भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न भयो। भूमि पूजन तथा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि समाजसेवी सन्दीप छेत्री, रुथ परियार, शिक्षक राजेश प्रधान, सांस्कृतिक कार्यकर्ता अर्जुन कागते, चमर्ची व्यवसायी समितिका अध्यक्ष डा फरीद शेख, हसन अन्सारी, अन्जुमन कमिटीका शफिकुल अन्सारी आदिको उपस्थिति रहेको थियो। विवेकानन्द क्लबका लगायत धेरै प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए। वन बस्ती नव युवा संघका तर्फबाट महासचिव सुजित बराइलीले सन् १९८० मा स्थापना भएको नव युवा संघले निरन्तर समाजसेवा कार्यहरू गर्दै आइरहेको छ।

संस्थामार्फत वन बस्ती क्षेत्रमा रक्तदान शिविर, नि:शुल्क स्वास्थ्य लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी जनताको सेवा गर्दै आएको छ । यस क्षेत्रका दुई समाजसेवी शंकर थापा र सरवन थापाले संस्थालाई प्रायः तीन हजार वर्गफुटको जग्गा दान दिएपछि भवन निर्माण गर्ने संकल्प लिएर आज यस भवनको भूमि पूजन तथा शिलान्यास कार्यक्रम गरिएको हो। यो तीन तल्लाको भवन हुनेछ। जसमा पुस्तकालय, धर्मशाला र हल निर्माण गरिनेछ। आजको कार्यक्रममा नवयुवा संघका अध्यक्ष श्याम थापा मगर, उपाध्यक्ष रामकुमार प्रधान, कार्यालय सचिव बाबा तामाङ, प्रभात प्रधान, श्याम बराइली, कोषाध्यक्ष गौतम लामा लगायत क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। नवयुवा संघको भूमि पूजन तथा शिलान्यास कार्यक्रममा स्थानीयवासीमा निकै उत्साह देखिएको छ। आगामी दिनहरूमा पनि विभिन्न सामाजिक कार्यहरू मार्फत जनताको सेवालाई निरन्तरता दिने क्लबले जानकारी दिएको छ।










