गान्तोक: सिक्किम सरकारको कृषि, बागवानी, पशुपालन तथा श्रम विभागीय मन्त्री लोकनाथ शर्माले आज टाशीलिङ सचिवालयमा रहेको आफ्नो चेम्बरमा एक सभाको अध्यक्षता गरे। गेजिघ बर्मेकमा रहेको नौमती धरोहर केन्द्रको शिलान्यास गर्ने तयारीबारे छलफल गर्न बैठक बोलाएका थिए। बैठकमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको विशेष उपस्थिति रहेको थियो र , संस्कृति विभागीय सचिव बसन्त कुमार लामा, अधिकारीहरु आरडी लेप्चा, अखिल सिक्किम अनुसूचित जाति कल्याण संघका अध्यक्ष विकास सुनाम पनि सहभागी थिए। सबै जिल्लाबाट संस्थाका कार्यकारी सदस्यहरू पनि सहभागी थिए। सिक्किमका मुख्यमन्त्री पीएस तामाङले गेजिङ बर्मेक निर्वाचन क्षेत्रको जनताभेट कार्यक्रममा योजनाको स्वीकॉति गरेका थिए।
बैठकमा प्रस्तावित कार्यक्रमको तयारी र व्यवस्थापनलाई तिब्रता दिन समिति गठन गर्न विस्तृत छलफल भएको थियो। मन्त्री शर्माले नौमती धरोहर केन्द्रलाई अनुपम सांस्कृतिक र परम्परागत विशेषता बोकेको ऐतिहासिक केन्द्रको रुपमा चिनाउनु पर्ने उल्लेख गरे। मुख्यमन्त्रीले परिकल्पना गरेको विकासले पक्कै पनि सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उनको भनाइ थियो। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले बैठकको तयारीका बारेमा जानकारी दिँदै भारतका विभिन्न राज्य तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधिहरुलाई आमन्त्रण गरी कार्यक्रमलाई भव्यरुपमा सफल बनाउने मुख्यमन्त्रीको दूरदर्शिताबारे प्रकाश पारे। सचिव संस्कृति विभाग, अध्यक्ष र सहभागीहरूले पनि आफ्नो विचार पेश गरेका थिए।