खरसाङ: आगामी पञ्चायत चुनावमा हिल तृणमूल कांग्रेसले पनि कतिवटा सिटहरूमा आफ्नो प्रार्थी उठाएका छन्। आज हिल तृणमूल कंग्रेसको प्रार्थीहरूले पनि खरसाङ खण्ड विकास कार्यालयमा आएर आफ्नो नामांकन पत्र भरेका छन्। हिल तृणमूल कांग्रेसले खरसाङ खण्ड अन्तर्गत सिटोङ ग्राम पञ्चायत तीनको तीनवटा सिटहरूमा पञ्चायत सदस्यको लागि चुनाव लड्ने भएको जानकारी प्राप्त भएको छ भने आज एकजनाले नामांकन पत्र बुझाएका छन्। त्यसरी नै यही ग्राम पञ्चायतबाट एकजनाले पञ्चायत समितिको लागि नामांकन पत्र बुझाएका छन्। त्यसरी नै सुकनाबाट दुईजना, सन्त मेरिज ग्राम पञ्चायत तीनबाट एकजना र सन्त मेरिज ग्राम पञ्चायत एकबाट एकजनाले आज नै नामंकन पत्र बुझाएका छन् भने पाण्डु ग्राम पञ्चायत र सन्त मेरिज ग्राम पञ्चायत दुईबाट दुईजनाले पञ्चायत समितिको लागि नामांकन पत्र बुझाएको जानकारी प्राप्त भएको छ
यस विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कांग्रेस खरसाङको सभापति आरिफ खानले पञ्चायत चुनावमा जीत हाँसिल गरिसकेको दाबी गर्दै सबैजनाले हर्षसाथ नामांकन पत्र भरिरहेको बताए। उनले पहाड़मा गणतन्त्र फर्काउने लक्ष्य राखेको र कलकत्ताबाट जे निर्देश आउँछ साथै हिल तृणमूल कंग्रेसको अध्यक्षा शान्ता छेत्री र चेयरम्यान एलबी राईले निर्देश दिए अनुसार त्यही ठाउँमा प्रार्थी उठाएको जानकारी गराएका छन्। आरिफ खानले अघि भने, पञ्चायत चुनावमा क्षेत्रीय पार्टी नै आउनुपर्छ र त्यही अनुसार नै टिकट वितरण गरिएको छ। त्यसरी नै खरसाङ खण्डको सभापति समरित छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै हिल तृणमूल कांग्रेसले खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा ७ वटा पञ्चायत सदस्यको लागि 3 वटा पञ्चायत समितिको सिटहरूमा आफ्नो प्रार्थीहरू उठाएको र कतिले आज नामांकन पत्र बुझाएको र कतिले भोलि १५ जूनको दिन नामांकन पत्र बुझाउने कार्य गरिने जानकारी गराएका छन्। उनले हाम्रो जहाँ जहाँ कार्यकर्ताहरू छन् त्यहाँ प्रार्थीहरू उठाएका छौं र नभएको स्थानतिर अरुलाई मौका दिएको बताएका छन्। छेत्रीले पहाड़मा पञ्चायती राज व्यवस्था फर्केर आउनुमा मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड़प्रतिको माया हो भनी बताएका छन्।