नाम्ची: सिक्किम ताइक्वाण्डो पुम्से टीम ३८औं नेशनल सिनियर क्योरिगी साथै ११औं नेशनल सिनियर पुम्से ताइक्वाण्डो च्याम्पियनशीपको टीम च्याम्पियन बनेको छ। टीम सिक्किमले यी दुवैवटा च्याम्पियनशीपको टीम च्याम्पियनको उपाधी आफ्नो झोलीमा हालेको छ। यी च्याम्पियनशीप गत ८ देखि ११ जूनसम्म उत्तराखण्डको देहरादुनमा उत्तराखण्ड ताइक्वाण्डो एसोसिएशन र ताइक्वाण्डो फेडरेशन अफ् इण्डियाको संयुक्त तत्वावधानमा आयोजना गरिएको थियो।
सातौं दान ब्ल्याक बेल्ट मास्टर त्रिलोक सुब्बाले सिक्किमको निम्ति व्यक्तिगत मास्ट वर्गमा स्वर्ण पदक जितेका छन्। उनले ओडिसा, राजस्थान र अरुणाचल प्रदेशका खेलाड़ीहरूलाई हराएर स्वर्ण जितेका हुन्। यसरी नै तेस्रो दान ब्ल्याक बेल्ट उगेन गुरुङले चारवटा स्वर्ण जितेका छन्। उनले मेन्स अण्डर ३० पेयर, सिनियर मेन्स अण्डर ३० टीम, न्यू पुम्से अण्डर ३० इण्डिभिज्यूअल र न्यू पुम्से अण्डर ३० मेल टीम वर्गमा स्वर्ण जितेका हुन्। अर्कोतिर महिला वर्गमा पनि सिक्किमले चार स्वर्ण पदक घर ल्याएको छ। यी चारैवटा स्वर्ण पदक सिक्किमलाई अद्यावती सुब्बाले दिलाएकी हुन्। उनले सिनियर इण्डिभिज्यूअल अण्डर ३० फिमेल, सिनियर अण्डर ३० पेयर, न्यू पुम्से इण्डिभिज्यूअल फिमेल अण्डर ३० र सिनियर फ्रीस्टायल इण्डिभिज्यूअल वर्गमा यी चार स्वर्ण जितेका हुन्।

यसरी नै पहिलो दान ब्ल्याक बेल्ट जितेन्द्र लिम्बूले सिनियर पेयरमा रजत र अण्डर ५८ किलोवर्ग क्योरोगीमा काँस्य पदक जितेका छन् भने पहिलो दान ब्ल्याक बेल्ट नेहा कार्कीले सिनियर पेयर र सिनियर इण्डिभिज्यूअल वर्गमा सिक्किमको निम्ति रजत जितेकी छन्। टीम सिक्किम नेशनल टीम च्याम्पियन बन्यो भने ओडिसा र तेलङ्गना क्रमैले पहिलो अनि दोस्रो उपविजेता बनेको छ। सिक्किमका खेलाड़ीहरूले मास्टर त्रिलोक सुब्बाको अधीनमा रहेर प्रशिक्षण लिएका थिए।









