चार दिवसीय ४७औं राज्य दिवस शुरु

IMG-20220516-WA0200.jpg

गेजिङ सरकारी महाविद्यालयको नाम पूर्व मुख्यमन्त्री सञ्चमान लिम्बू सरकारी महाविद्यालय गेजिङ राखिने मुख्यमन्त्रीको घोषणा

गान्तोकः सिक्किम सरकारले ४७औं राज्य दिवस आजादी का अमृत महोत्सवअन्तर्गत चार दिवसीय समारोहको रुपमा आयोजना गरेको छ। आजदेखि शुरु भएको यो उत्सव आगामी १९ मईसम्म चल्नेछ जसअन्तर्गत अन्तिम दिनको कार्यक्रम देशको राजधानी नयाँ दिल्लीमा राष्ट्रिय कार्यक्रमको रुपमा आयोजना गरिने भएको छ। उल्लेखनीय छ, आजकै दिन १९७५ सालमा तत्कालीन सिक्किम देश २२औं राज्यको रुपमा भारतमा विलय भएको थियो। यसरी सिक्किमवासीले प्रजातन्त्र प्राप्त गरेको आजको दिनलाई राज्य दिवसको रुपमा पालन गरिँदै आएको छ।

आजको कार्यक्रम दुई भागमा आयोजना गरिएको थियो। पूर्वार्धको आधिकारिक कार्यक्रम मनन केन्द्रमा आयोजना गरिएको थियो भने उत्तरार्धमा स्थानीय एमजी मार्गमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो। एमजी मार्गको कार्यक्रम तीन दिनसम्म चल्नेछ। बिहान मनन केन्द्रको कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथि रहेका थिए भने मुख्यमन्त्री पीएस गोलेले विशिष्ट अतिथिको रुपमा कार्यक्रममा उपस्थिति जनाएका थिए। कार्यक्रमको आरम्भमा सिक्किममा प्रजातन्त्रको पिता मानिने पहिलो मुख्यमन्त्री स्व. एलडी काजीको तस्वीरमा मुख्य अनि विशिष्ट अतिथिहरूद्वारा माल्यार्पण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले सिक्किमवासी स्वेच्छाले भारतको २२औं राज्यको रुपमा भारतमा सामेल भएको ४७ वर्षको यात्रा अवस्मरणिय रहेको बताए। प्रजातन्त्र प्राप्तिपछि सिक्किम राज्यमा विकास र प्रगतिको मूल फुटेको बताउँदै वर्तमान सरकारले गरेका विकासमुखी कार्यहरूमाथि राज्यपालले विशेषरुपमा प्रकाश पारे। यसै सन्दर्भमा बोल्दै उनले दुईवटा नयाँ जिल्लाको निर्माणले सुचारु एवं पारदर्शी शासनको लक्ष्यलाई प्राप्त गर्नमा सहयोग मिल्ने आशा व्यक्त गरे।

यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै शुरुमा मुख्यमन्त्री पीएस गोलेले ४७औं राज्य दिवसको अवरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमवासीलाई दिएको संदेश पढ़ेर सुनाए। यसरी नै राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री अनि अन्य केन्द्रीय नेताहरूले पनि सिक्किमवासीलाई शुभकामना संदेश दिएको उनले जानकारी गराए। यसको निम्ति मुख्यमन्त्रीले सिक्किमवासीको पक्षमा ती सबै प्रति आभार व्यक्त गरे। आजकै दिन सिक्किम भारतीय लोकतान्त्रको मूल धारामा सामेल भइ कञ्चनजङ्घाको संदेश लिएर कश्मिरदेखि कन्याकुमारीसम्म एकता अनि अखण्डताको बिगुल बजाउँदै सभ्यता र विकाससम्पन्न नयाँ युगमा पाइला टेकेको मुख्यमन्त्री गोलेले बताए। भारतको २२औं राज्य बनेपछि सिक्किम विश्वव्यापी विकासको मोडल बनेको छ भन्नमा दुईमत नहुने उनले बताए। मुख्यमन्त्रीले आज पनि आफ्नो सम्बोधनमा विभिन्न प्रतिकूल परिस्थितिबीच पनि वर्तमान एसकेएम सरकारले विगत करिब तीन वर्षमा गरेका विकासका कामहरूलाई दोहोऱ्याए। यसको साथै आज मुख्यमन्त्रीले केही घोषणा पनि गरे जसमा गेजिङ सरकारी महाविद्यालको नाम राज्यका चौथो मुख्यमन्त्रीको नाममा सञ्चमान लिम्बू सरकारी महाविद्यालय गेजिङ राखिने प्रमुख रहेको छ। यसरी नै गेलिङ वरिष्ट माध्यामिक विद्यालयको नाम डा. भीमराव अम्बेदकर वरिष्ट माध्यामिक विद्यालय राखिने घोषणालाई पुनः दोहोऱ्याए भने एमआर, वर्कचार्ज र कन्ट्रेच्यूल कर्मचारीलाई उपचारको निम्ति राज्य तथा राज्यबाहिर कुनै पनि अस्पतामा रेफर गरिएको खण्डमा सरकारले मुख्यमन्त्री स्वास्थ्य सुरक्षा योजनाबाट २.५ लाख रुपियाँको आर्थिक सहयोग रिम्बर्समेन्टको रुपमा प्रदान गरिने घोषणा पनि गरे।

आजको पूर्वार्धको कार्यक्रममा सम्मान कार्यक्रम पनि रहेको थियो जसमा पर्वतारोही सुश्री मनिता प्रधानलाई सिक्किम रत्न, चलचित्र निर्माता उगेन छोपेललाई सिक्किम सेवा रत्न र लोक गायक नरेन गुरुङलाई सिक्किम सेवा सम्मान प्रदान गरियो। यसरी नै उल्लेखनीय कार्य गर्ने दुईजना पुलिसकर्मीलाई सिक्किम पुलिसको १२५ वर्ष पूरा भएको अवसरमा विशेष मेडल पनि प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *