बीजेपी सिक्किमद्वारा ४८औं राज्य दिवस पालन

IMG-20220516-WA0203.jpg

जबसम्म मुख्यमन्त्री अनि मन्त्री-विधायकहरूको स्तरबाट कमिशन प्रथा बन्द हुँदैन, तबसम्म पारदर्शी व्यवस्था सम्भव छैनः डीबी चौहान

गान्तोक। भारतीय जनता पार्टी, सिक्किम प्रदेशले आज सिङ्तामस्थित पार्टी कार्यालयमा ४८औं राज्य दिवस पालन गऱ्यो। पार्टी प्रदेश अध्यक्ष श्री डीबी चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरूवाती चरणमा भाजपा अनुसूचित जाति मोर्चाका राष्ट्रिय महामन्त्री एवं उत्तर प्रदेशबाट सांसद डा. भोला सिंह अनि मोर्चाका सिक्किम प्रभारी श्री विक्रम नाश्करको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी पदाधिकारीगण एवं कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा आफ्नो छोटो सम्बोधन राख्दै भाजपा सांसद डा. भोला सिंहले सिक्किमवासीलाई राज्य दिवसको शुभकामना दिँदै मोदी सरकार सिक्किमको विकासप्रति गम्भीर रहेको जानकारी दिए।
मुख्य वक्ताको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष श्री डीबी चौहानले सम्पूर्ण सिक्किमेली जनगणमा राज्य दिवसको शुभकामना व्यक्त गर्दै विगत ४७ वर्षको प्रजातान्त्रिक यात्रामा सिक्किम कहाँ आइपुगेको छ र के-कति क्षेत्रहरूमा हामी चुकेका छौं, त्यो आत्मचिन्तन र समीक्षा गर्ने दिन रहेको बताए। विगत ४७ वर्षमा सिक्किमको सर्वाङ्गीण विकासमा केन्द्र सरकारले निरन्तर अरबौं रुपियाँ खर्च गरेर पनि आजसम्म सिक्किम आफ्नो खुट्टामा उभिन नसक्नु निश्चित रूपमा दुःखको विषय रहेको बताउँदै राज्यको शासन व्यवस्थाको विभिन्न स्तरमा मौलाएको भ्रष्टाचारको कारण नै केन्द्रीय अनुदानको ठूलो हिस्सा जनताको काममा नपुगेको बताए।

४७ वर्षको लामो प्रजातान्त्रिक यात्रामा सिक्किम अहिले पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा आत्मनिर्भर बन्न नसकेकोमा दुःख व्यक्त गर्दै आज पनि राज्यका सरकारी अस्पतालहरूले राज्यवासीको विश्वास जित्न नसकिरहेको अनि छिमेकी राज्यको सिलगढ़ी महकुमामा रहेका निजी अस्पताल र नर्सिङ होम धाउनुपर्ने अवस्था कायम रहेको बताए। सोही प्रकारले शिक्षा व्यवस्थामा केन्द्र सरकारले २००७ सालमा दिएको सिक्किम केन्द्रीय विश्वविद्यालय आज १५ वर्ष बितिसक्दा पनि भाड़ाकै घरहरूमा चलिरहेको बताउँदै अध्यक्ष चौहानले यसमा राज्यको शासन व्यवस्था र सरकारीतन्त्र जिम्मेवार रहेको ठहर गरे। आज पनि सिक्किमे विद्यार्थीहरू शिक्षार्जनको निम्ति आज पनि चर्को शुल्क तिरेर निजी संस्थानहरूमा निर्भर रहनुपरिरहेको उनले बताए। यस विषयमा राज्यका राजनीतिज्ञ, नोकरशाह तथा बुद्धिजीवीहरूले छातीमा हात राखेर आत्मचिन्तन गर्नुपर्ने उनले आह्वान गरे। यसै गरी रोजगारको क्षेत्रमा पनि आज सिक्किमे भाइ-बहिनीहरू तल्लो स्तरमा काम गरिरहेको कुरा उठान गर्दै अध्यक्ष चौहानले विगत २० वर्षदेखि राज्यमा कम्पनीहरू स्थापित भए पनि अहिलेसम्म पनि राज्यले कम्पनीहरूको उच्च ओहोदाहरू ओगट्न राज्यको मानव संसाधन तयार पार्न नसकेको बताए।
प्रदेश अध्यक्षले राज्यमा विभिन्न स्तरमा भएका र भइरहेका भ्रष्टाचारहरूको मुद्दा उठाउँदै केन्द्रीय अनुदानको ठूलो हिस्सामा धमिरा लाग्ने गरेको बताए। उनले भने, जबसम्म मुख्यमन्त्री अनि मन्त्री-विधायकहरूको स्तरबाट कुनै पनि कामको कमिशन माग्ने प्रथा बन्द हुँदैन, तबसम्म पारदर्शी व्यवस्था र गुणस्तरीय विकास सम्भव हुँदैन। वर्तमान सरकारले पनि व्यवस्था परिवर्तनको चर्को नारा लिएर सत्तामा पुगेको भए तापनि सरकारीतन्त्रमा व्यवस्था परिवर्तन गर्ने आँट नदेखाएको कारण सरकारीतन्त्रमा व्यापक भ्रष्टाचार अहिले पनि कायम रहेको बताए। उनले उच्च पदस्थ विभागीय अधिकारीहरूलाई पनि जनताको काममा गम्भीर र जवाफदेही हुनुपर्ने कुरामा जोर दिए। हालै प्रकाशमा आएको एमसीएक्स काण्डमा आजसम्म राज्य प्रशासन र सरकारले एउटा एफआईआर पनि दर्ता गर्न असमर्थ भएको कुरालाई झिक्दै अध्यक्ष चौहानले अब यस मुद्दाले जनतामाझ ठूलो शंका उत्पन्न भइरहेको बताए। उनले यस मामिलामा सीबीआई जाँचको माग दोहोऱ्याउँदै भाजपाले यस मुद्दामा अन्तिमसम्म लड़ाईं लड्ने चेताउनी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *