गान्तोक: राजधानीस्थित पाल्जोर स्टेडियमको इण्डोर हलमा आजदेखि छैटौं युथ मेन्स नेशनल बक्सिङ प्रतियोगिता शुरू भयो। सिक्किम अमेच्युर बक्सिङ एसोसिशन र बक्सिङ फेडरेशन अफ इन्डियाको संयुक्त पहलमा शुरू भएको यस प्रतियोगिताको उदघाटन राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे। यस अवसरमा आयोजक समितिका प्रमुख संरक्षक मन्त्री सोनम लामाको पनि उपस्थिति रहेको थियो। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले आजदेखि शुरू भएको यस प्रतियोगितामा सहभागी बन्ने सबै खेलाडीहरूलाई जितको शुभकामना दिए। यति ठूलो प्रतियोगिता आयोजना गरेकोमा सिक्किम अमेच्युर बक्सिङ एसोसिएशन (साबा) लाई राज्यपालले बधाई दिए। सिक्किम एउटा पवित्र स्थल रहेकोले यस ठाउँको आशिर्वादले सम्पूर्ण खेलाडीले आफ्नो राज्य र देशको नाउँलाई गौरान्वित तुल्याउन सकुन् भन्दै उनले शुभकामना दिए। यस प्रतियोगिताको आयोजनाले अन्य राज्यका अतिथिहरुले सिक्किमको समाज अनि संस्कृतिलाई अझ नजिकबाट जान्ने अवसर प्राप्त गरेको उनले मन्तव्य प्रकट गरे। श्रेष्ठदेखि श्रेष्ठतम हुनु मानवीय गुण रहेको बताउँदै उनले उपस्थित सम्पूर्णलाई श्रेष्ठतम व्यक्ति बन्नको निम्ति आग्रह गरे।
यसरी नै प्रमुख संरक्षकको तर्फबाट सम्बोधन राख्ने क्रममा मन्त्री सोनाम लामाले विभिन्न राज्यबाट यस प्रतियोगितामा भाग लिन आएका खेलाडीहरु, प्रशिक्षक, रेफरी साथै समस्त भारतीय बक्सिङ फेडरेशनका अधिकारीवर्गलाई स्वागत जनाए। यसरी भव्य रुपमा बक्सिङ च्याम्पियनसिप आयोजना गर्नको पछि सिक्किम राज्यका मुख्यमन्त्री पी.एस. तामाङको ठूलो सहयोग र आशिर्वाद प्राप्त भएकोमा उनले मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे। आजको यस प्रतियोगितामा देशको प्राय सबै राज्य र युनियन टेरिटोरियलबाट खेलाडीहरूले सहभागिता जनाएका छन्। आजदेखि शुरू भएको यस प्रतियोगिताको फाइनल खेल आगामी १८ जुनको दिन सम्पन्न हुने भएको छ।