१३ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले एकतर्फी जीत हासिल गऱ्यो। चानमारी मैदानमा मंगलवार खेलिएको दिनको दोस्रो म्याचमा केएफसी-ले जेआर३२ फूटबल एकाडमीलाई ५-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट प्रनेश प्रधानले २ गोल गरे। यसबाहेक निवांग तामाङ, अभिनय तामाङ र निशान्त लोहारले १-१ गोल गरे। जेआर३२ फूटबल एकाडमीबाट ईशान्त भुजेलले गोल गरे। यस म्याचमा नितेश देवान मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा प्रतीक गुरुङ र अरविन्द छेत्री थिए। फोर्थ अफिसियलको जम्मेवारी सञ्जय थापा र सत्यम थापाले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन क्षेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।