घर आँगनमा प्रशासनको मूलमन्त्रका साथ सरकार गाउँमा

si-2

सोरेङःपश्चिम सिक्किममा मुख्यमन्त्री पीएस तामाङको म्याराथन जनता भेटघाट कार्यक्रम जारी छ। चिवाभञ्ज्याङपछि मानेबुङ देन्ताम समष्टिको तीनदिने जनता भेटघाट कार्यक्रमको समाप्ति पश्चात् आजदेखि मुख्यमन्त्रीले सोरेङ जिल्लाको रिञ्चेन्पोङ समष्टिमा जनता भेट कार्यक्रम आरम्भ गरेको छ। यहाँ जनता भेटघाट कार्यक्रम तीन दिनसम्म चल्नेछ। मुख्यमन्त्रीले आज रिञ्चेन्पोङ समष्टिको तीनवटा ब्लक साङ्गादोर्जी हाथिढुङ्गा, कलुक-तादोङ र बम रेसी साम्दुङका जनतालाई भेट गरे। पहिलो दिनको जनता भेट कार्यक्रममा मुख्यमन्त्रीले स्थानीय तीनवटा ब्लकका जनताका समस्या र दुखेसो सुने।

मुख्यमन्त्रीले वरिष्ठ नागरिक, बिरामी, विद्यार्थी, ठेकेदारी काम र व्यापारका निम्ति ऋण माग आउने साथै नोकरीको निम्ति आवेदन गर्न आएका शिक्षित जमातहरूलाई पनि चरणबद्ध रूपमा भेटघाट गरे।

मुख्यमन्त्रीले पत्रकारहरुसँग कुराकानी गर्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारको उद्देश्य “घर आँगनमा प्रशासन“ भन्ने मूलमन्त्र लिएर सरकार नै डल्लै गाउँमा पुगेर जनतालाई फाइदा पुऱ्याउने काम सरकारले गरिरहेको बताए। जनताले आवेदन गरेका जति पनि माग पत्रहरु छन् ती मागपत्रलाई मुख्यमन्त्री कार्यालयले (सीएमओ) जाँच गर्ने अनि जाँच प्रक्रियामा छिरेका आवेदनकर्ताहरुको माग सरकारले चरणबद्ध रूपमा पूरा गर्ने मुख्यमन्त्रीले बताए। मुख्यमन्त्रीले रिञ्चेन्पोङ समष्टिका ९ घर भूमिहीन सुकुम्बासीलाई जमीनको पर्जा हस्तान्तरण पनि गरे।

रिञ्चेन्पोङ समष्टिका सीएलसी अध्यक्ष जीतहाङ सुब्बाले बताए अनुसार, भोलि आइतवार मुख्यमन्त्रीले तीनवटा ब्लक छुचेन ताकुथाङ, सुलडुङ कामलिङ र खानिशिरबुङ सुन्तलेका जनतालाई भेट गर्ने कार्यक्रम रहेको छ। यसरी नै मुख्यमन्त्रीले सोमवार अन्तिम दिन साम्दुङ शिरिबदम, देथाङ र परेङगाउँ ब्लकका आमजनतालाई भेट गर्नेछन्। मुख्यमन्त्रीको जनता भेट कार्यक्रम स्थलमा सत्तारूढ एसकेएम पार्टीका भातृ संगठन गरीब जनकल्याण प्रकोष्ठले रिञ्चेन्पोङ समष्टिका बिरामीहरुको स्वास्थ जाँच गर्नसाथै बिमारीहरुको कागजपत्र हेरेर सहयोग गर्ने काम पनि भइरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement