महिला सुरक्षा, यौन दुर्व्यवहार र आत्मरक्षाबारे तादोङमा सचेतना कार्यक्रम आयोजित

si-2

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशानिर्देश बमोजिम आज तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा महिला सुरक्षा र नानीहरूमा हुने यौन दुर्वय्वहारविरूद्ध एक सचेतना कार्यक्रम आयोजना गरियो। सिक्किम क्रान्तिकारी मोर्चा अप्पर तादोङ निर्वाचन क्षेत्रको पहलमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम राज्य महिला आयोगकी अध्यक्ष छुङ किपु लेप्चा रहेकी थिइन् भने विशिष्ट अतिथिमा क्षेत्र विधायक जीटी ढुङ्गेल रहेका थिए।

आजको यस कार्यक्रम अन्तर्गत विशेष गरेर महिलाहरूको सुरक्षा र आत्म रक्षाको निम्ति संगोष्ठीको पनि आयोजना गरियो। यसै क्रममा ताइक्वाण्डो, कराँते, वुसुका खेलाडीहरूले प्रदर्शन गर्नको साथै नानीहरूलाई कसरी आफ्नो रक्ष गर्न सकिन्छ भन्ने विषयमा तालिम पनि प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लेप्चाले केही दिन अघि राज्यमा एक नानीमाथि भएको जघन्य अपराधबारे जानकारी गराउँदै यस प्रकारको घटनादेखि नानीहरू सचेत रहनु पर्ने आग्रह गरिन्। यसका साथै उनले यस प्रकारको घटनाबाट नानीहरूलाई बचाउनको निम्ति आमा बाबा साथै शिक्षकवर्गको पनि ठूलो भूमिका हुने गरेको अवगत गराइन्।

विशेष गरेर महिलाहरूमाथि हुने घरेलु हिंसामाथि उनले प्रकाश पारिन्। आयोगमा धेरै जसो घरेलु हिंसाको मामिला आउने गरेको र आयोगले यसको समाधान पनि गर्दै आइरहेको दावी गरिन्। उनले यदि कुनै पनि महिला एवं वाल बालिकासँग यस प्रकारको घटना भएमा सिकायत दर्ता गराउनु पर्ने आग्रह गरिन्। उनले जानकारी गराए अनुसार महिलाहरूमा हुने घरेलु हिंसा रोकथाम, नियन्त्रण साथै समस्या समाधान गर्न हेतु राज्यको विभिन्न स्थानमा वन स्टप सेन्टर सञ्चालन भइरहेको र यसको हेल्प लाइन नम्बर पनि सार्वजिन गरिसकेको अवगत गराइन्। आयोगले राज्यको विभिन्न क्षेत्रमा पुगेर महिलाहरूको सुरक्षा र अधिकारबारे कानुनी सचेतना कार्यक्रम आयोजना गर्दै आएको उनले दावी गरिन्।

यसै क्रममा विधायक ढुङ्गेलले समाजमा नकारात्मक सोंच भएका व्यक्तिहरूले धेरै प्रभाव पार्न सक्ने र पारिरहेको जानकारी गराए। विशेष गरेर विद्यार्थीहरू यस प्रकारको नकारात्मक प्रभावदेखि टाडा रहनु पर्ने र समाजमा राम्रो काम गरेर उदाहरणीय बन्नु पर्ने सुझाउ दिए। विद्यार्थीहरूमा अनुशासनको ठूलो महत्व रहने भएकोले सबै कार्य क्षेत्रमा अनुशासिष भएर बस्न सकेको खण्डमा लक्ष्य प्राप्त गर्न सकिने मन्तव्य प्रकट गरे।

आजको यस कार्यक्रममा विभिन्न वक्ताहरूले महिला साथै बाल बालिकाहरूमाथि हुने यौन दुर्वय्वहार र आत्म रक्षाबारे जानकारी गराए। आजको यस कार्यक्रममा पूर्व पुलिस अधिक्षक ओङमु भोटियाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा नानीहरू कसरी सुरक्षित बस्न सक्छन् साथै पोक्सोबारे पनि विस्तृतरूपमा जानकारी गराइन्। सोही प्रकारले अधिवक्ता टीआर बरफुङपा, महिला एवम बाल विकास विभागका अधिकारीहरू पनि स्रोतवक्ताको रूपमा उपस्थित थिए।

-हिस

About Author

Advertisement