नामथाङमा ‘इट राइट मिलेट’ मेला आयोजित

IMG-20230607-WA0386.jpg

गान्तोक: नाम्ची जिल्लाको खाद्य एवम नशालु पदार्थ प्रशासन विभागको पहलमा ‘इट राइट मिलेट’ मेला आयोजना गरियो। नाम्चीस्थित नामथाङको बाल कृष्ण कसाजु उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा नाम्ची जिल्लाका मुख्यमन्त्रीका राजनीतिक अतिरिक्त सचिव कविता सापकोटा रहेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सापकोटाले जीवन शैली सम्बन्धी रोगहरूबाट बाँच्न दैनिक भोजनमा कोदोको समावेशलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको कार्यक्रमबारे संक्षिप्त जानकारी गराइन्। उनले यस प्रकारका कार्यक्रमहरूले सुरक्षित खाद्य अभ्यास र खाद्य पारिस्थितिकी प्रणालीको निर्माण, विशेष गरी कोदोलाई स्वस्थ र पौष्टिक खानाको विकल्पको रूपमा सचेत गराउनु पर्ने आग्रह गरिन्।

यसै क्रममा स्रोतवक्ता छिरिङ ग्याछो लेप्चाले कोदो उत्पादकको रूपमा आफ्नो अनुभव साझा गर्दै कसरी वर्षौंदेखि राज्यमा विभिन्न प्रकारका स्वदेशी कोदो अन्न बालीहरूको सफलतापूर्वक संरक्षण गर्दै आइरहेको विस्तृतरूपमा अवगत गराइन्। उनले कोदोबाट बनाइने विभिन्न स्थानीय परिकारको बारेमा जानकारी दिँदै यसले स्वास्थ्यको क्षेत्रमा देखा पर्ने लाभका लक्ष्णबारे जानकारी गराइन्। कोदोको अनौठो फाइदाबारे प्रकाश पार्दै उनले स्थानीय कृषकहरूलाई कोदो खेतीतर्फ लाग्न प्रेरित गरिन्। कृषकले कोदो र यसको उत्पादन बिक्री गर्न सरोकारवालाहरूले एक आदर्श बजार प्रणाली निर्माण गरिरहेको बताइन्।

About Author

Advertisement