७ जूनः एसी मिलानका अनुभवी फरवर्ड खेलाड़ी ज्लाटन इब्राहिमोविचले तुरन्त प्रभावको साथ फूटबलबाट सन्न्यासको घोषणा गरे। इटालियन सेरि ए फूटबलमा एसी मिलानसँग इब्राहिमोविचको अनुबन्ध यस सत्रको समापनसँगै समाप्त भयो। मिलानको टोलीले भेरोना विरुद्ध म्याचपछि स्वीडेनका ४१ वर्षीय दिग्गज फूटबलरको निम्ति बिदाई समारोहको आयोजन गरिने अगावै घोषणा गरेको थियो। इब्राहिमोविचको नाममा स्वीडेनको राष्ट्रिय टोलीबाट १२२ वटा म्याचमा ६२ गोलको रेकर्ड रहेको छ। उनले एसी मिलानबाट २०२०-देखि ६४ वटा म्याच खेलेर ३४ गोल गरे। म्याचपछि उनले प्रेस कन्फ्रेन्समा खेलबाट सन्न्यास लिने खबरको कसैलाई जानकारी थिएन भनी बताए। उनले भने, यो कुरा मेरो परिवारलाई पनि थाहा थिएन। खेलबाट सन्न्यास लिने घोषणा गर्दा सबैले एकसाथ सुनोस् भन्ने म चाहन्थे। सान सिरोमा म्याचपछि मैदान बाहिर जाँदा इब्राहिमोविचलाई उनको टीमका साथी खेलाड़ीहरूले गार्ड अव् अनर दिए। इब्राहिमोविचले पनि आँशु रोक्न सकेनन्। उनले आफ्ना साथी खेलाड़ीहरूलाई भने, फूटबललाई बिदा जनाउने समय आएको छ, तपाईंहरूलाई हैन। इब्राहिमोविचले एसी मिलानबाट समग्रमा १६३ वटा म्याच खेलेर ९३ गोल गरे। उनी जनवरी २०२०-मा दोस्रोपल्ट टीममा सामेल भएका थिए अनि उनको उपस्थितिमा एसी मिलानले गत सीजनमा सेरि ए खिताब जितेको थियो। गत वर्ष घुँड़ाको अपरेशनपछि उनले चोटसँग जुझ्नु पऱ्यो। यसैकारण उनले यस सीजनमा केवल चारवटा म्याच खेले। इब्राहिमोविचले भने, आफ्नो परिवारलाई धन्यवाद जनाउन चाहन्छु। यसको साथ टीमको रूपमा आफ्नो दोस्रो परिवारलाई पनि। कोच र स्टाफहरूलाई पनि धन्यवाद। समर्थकहरू प्रति आन्तरिक हृदयबाट आभारी छु।