कालचिनीः डुवर्सको प्रायजसो चियाबारी गाउँ बस्तीहरू जंगल संलग्न रहेकोले जंगली जानवरहरूको रगरगी चियाकमानको सेक्सनहरूमा हुनु सामान्य विषय भएता पनि विगत एक दशकको तुलनामा अहिले जंगली हात्ती र चितुवाको उत्पातमा वृद्धि असामान्य बन्दै गईरहेको छ। चियाकमानको सेक्सनहरूमा काम गर्ने श्रमिकहरूलाई लगातार चितुवाको आक्रमणले त्रस्त बनाइरहेको क्रममा मङ्गलबार दिउँसो फेरि एकजना बीघा श्रमिक चितुवाको आक्रमणमा परेर घाईते बनेको घटना प्रकासमा आएको छ।
कालचिनी खण्डको गंगुटिया चियाबारीको चिन्चुला आउट डिभिजनको ३१ नम्बर सेक्सनमा फेन्सिङ लगाउने काम गरिरहेको एकजना श्रमिक बिराज टोप्पो (३२) माथि अचानक कमानको झाड़ीबाट निस्किएको एउटा चितुवाले हमला गर्दा श्रमिक बिराज टोप्पोको छात्ती, पाखुरा र टाउकोमा चिथोरिएर घाईते बनेको थियो। कमान प्रबन्धनपक्षले एम्बुलेन्सको मदतमा घाईते श्रमिकलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएर प्राथमिक चिकित्सा गरेपछि घर आराम गर्न पठाएको चिकित्सकहरूले जनाएका छन्। घाईते श्रमिकको अवस्था बुझ्न अस्पताल आईपुगेका बन अधिकारीले घाईतेको उपचारमा हरसम्भव मदत गरिने बताएका छन्। बन विभागद्वारा लगातार सचेतना गर्दै आईरहेको र अझै चियाकमानहरूमा सचेतना गरीने जनाएका छन्।