४ जूनः डामडिम फ्रेण्ड्स यूनियन क्लबको आयोजनमा जारी गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा असमको ग्लोबल एफसी सेमिफाइनलमा पुग्यो। आइतवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा ग्लोबल एफसी-ले राजगञ्ज वेलफेयर अर्गनाइजेशनलाई सडन डेथमा पराजित गऱ्यो। म्याचमा नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रह्यो। त्यसपछि टाईब्रेकरमा पनि स्कोर बराबरीमा रहँदा सडन डेथ गराइयो। नियमित समयको खेलमा राजगञ्ज वेलफेयर अर्गनाइजेशनबाट जयहरि बर्मनले पेनल्टीबाट गोल गरे। त्यसपछि दोस्रो हाफको खेलमा रुस्ता ब्रम्हाले गोल गरी ग्लोबल एफसी-लाई १-१-को बराबरीमा पुऱ्याए। अब ७ जूनको दिन खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिस र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ४.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टको फाइनल १८ जूनमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा फेयर प्ले ट्रफी पनि रहेको छ।