खरसाङमा गोर्खा खस कादसा समुदायको एक महत्वपूर्ण बैठक सम्पन्न

c9a2d299-a05e-4994-90d1-fc3f196a6dbc

बाग्राकोटः शनिबारको दिन अखिल भारत गोर्खा खस कामी,दमाई, सार्की एकता मञ्च, केन्द्रीय कमिटीको १० जनाको टोली यो संगठन स्थापना भएको चार वर्षपछि  दार्जीलिङ पहाड़को खरसाङ पुग्यो। यसदिन यहाँ दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, मङपू, तीनधारे, सिलगढ़ी, सोनादा आदि क्षेत्रका कामी, दमाई, सार्की समाजका बरिष्ठ व्यक्तित्वहरू अनि भारतीय कामी उन्नयन परिषदका केन्द्रीय पदाधिकारी (कालेबुङ) अनि अल इण्डिया नेपाली सेडुल्ड कास्ट एसोसिएसन (दार्जीलिङ) का पदाधिकारीगण अनि पार्वत्य अनुसूचित जाति – जनजाति कल्याण संघ-का महासचिव पुरणकुमार लोहारको बाक्लो उपस्थिति थियो। यस दिन सभामा कामी उन्नयन परिषदका केन्द्रीय अध्यक्ष  मणि सिङ्गले सभा अध्यक्षताको भार लिएका थिए भने यो सभाको मुख्य आकर्षक अखिल भारत गोर्खा खस कामी दमाई सार्की एकता मञ्च, राष्ट्रीय केन्द्रीय कमिटीका कार्यकारी अध्यक्ष एवं भारतीय नेपाली साहित्यका बरिष्ठ कवि, साहित्यकार अशोक विश्व लोहार थिए। विश्वले उक्त सभामा सम्पूर्ण पहाड़को विभिन्न क्षेत्रको तीनवटै समाजका प्रतिनिधिवर्ग र संगठनहरूको प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने – डुवर्समा हामीले यो केडीएस संगठन मजबूर र बाध्य भएर खोलेको हो। कारण यो संगठन खोल्नुभन्दा अघिसम्म डुवर्सले यही पहाड़का नेतृत्वहरूको पछ्यौरी समातेर हिँड़ेका थियौं। तर हामी केवल यूज मात्र भयौं। पहाड़को सम्पूर्ण क्षेत्रीय राजनैतिक पार्टीहरूले डुवर्सको नाम गरेर, भावनात्मक ब्लाकमेल गरेर पटक पटक विश्वासघात र धोका दियो अनि आफ्नै सम्बन्धित जात समुदायकाहरूले समेत धोका दिए तर पनि हामी सहेरै बसेका थियौं। जब भारतमा रहल गोर्खाको ११ जात गोष्ठीलाई जनजातिको दर्जा  फेरि फर्काई माग्ने कुरा केन्द्र र राज्य सरकारकोमा पुग्यो। तर पहाड़को नेपाली भाषी कादसा समुदायका समाज, संगठन र व्यक्तिहरूबाट एउटा पनि सकरात्मक पहल न उठाएको देख्दा  र केन्द्र सरकारमा जनजाति विषय चरममा पुग्दा पनि पहाड़का हाम्रा समुदायहरूले आवाज न उठाएको देख्दा नै बाध्य भएर डुवर्सबाट यो संगठन गठन गरेर केन्द्रको कुरा बुझ्न र जान्न हामी २०१९ देखि दिल्ली मुखी काम गर्न शुरू गर्यौं। दिल्लीमा कुरा बुझिसके पछि हामीले लगातार चार चार पल्ट सम्बन्धित विभागका मन्त्री, चेयरमेन, कानुनमन्त्री, आरजीआईका कमिश्नर, डाईरेक्टर, गृहमन्त्री, सांसदगण, विधायकगण अनि क्षेत्रीय राजनैतिक पार्टीका अध्यक्ष आदिलाई मांगपत्र दिइने काम गर्यौं। हाम्रो मांग एउटै छ जब भारतको सम्पूर्ण राज्यहरूमा बस्ने गोर्खाको सम्पूर्ण जातलाई जमिनी अधिकार र सुरक्षाको निम्ति जनजातिको माग छ भने यही गोर्खाको अभिन्न अंग कामी, दमाई, सार्की जात पनि नछोड़ियोस् यो तीन जात पनि खसभित्र नै पर्छ। यसैले यो जातको पनि सुरक्षा हुनु पर्छ भन्ने हाम्रो मांग हो। यहाँ यो संगठनले आरक्षणको मांग र सरकारी सहुलियतको मांग गरेको छैन अनि गर्दैन पनि। कारण जबकि भोलिको दिनमा गोर्खाको सम्पूर्ण जात जनजातिमा अन्तर्भुक्त भएर यो कामी, दमाई, सार्की जात छोड़िए हाम्रो भविश्य के होला। त्यसपछि त यो जातले जनजातिको जमीन धरि किन्नु पाउँदैनौं, अनि जब यो जातनै रहेन भने आरक्षण र सहुलियत कहाँबाट पाउने। यसैले यो जातिको अस्तित्व, चिन्हारी, कला, संस्कृति आदिको सुरक्षा र संरक्षणको निम्ति नै हामी मैदानमा ओर्लिएको हो। तिनले अझ भने, पहाड़का हाम्रा तीनै जातिका समाज र संघ, संस्थाका पदाधिकारीहरूलाई यो नम्र निवेदन गर्छौं कि तपाईहरूले दया गरेर आफ्नै जातहरूलाई मनगढ़न्ते कुरा गरेर, हाम्रो विरोध गरेर, ब्यक्तिको बिरोध गरेर अन्य जात समुदायलाई न हँसाउनु होस्। हामीलाई विश्वास गर्नु होस्। हामी जुन मांग लिएर मैदानमा उत्रेका छौं फत्ते गरेर नै छाड़नेछौं। यदि हाम्रो मांगलाई अनदेखा गरेर छोड़ने काम गऱ्यो भने सम्पूर्ण हाड, तराई, डुवर्स र अन्य राज्यहरूमा बस्ने हाम्रो मान्छेहरूलाई लिएर सड़कमा ओर्लने छौं  यसैले एकताको सूत्रमा बाँधिएर समर्थन गर्नु होस् भन्ने कुरा जनाए।

About Author

Advertisement