गान्तोकः भारतीय जनता पार्टी, सिक्किम प्रदेशको एउटा महत्वपूर्ण बैठक आज सिङ्तामस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकमा पार्टी प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्ष अर्जुन राई, महामन्त्री भरत दुलाललगायत प्रदेश, जिल्ला तथा मण्डलस्तरका पदाधिकारीगण साथै मोर्चा कार्यकारिणीहरूको उपस्थिति रहेको थियो। बैठकको शुरूमा हिजो ओडिसाको बालासोरमा भएको भयानक रेल दुर्घटनामाका मृतकहरूको आत्मा शान्तिको निम्ति दुई मिनटको मौनधारणसँगै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको निम्ति प्रार्थना गरियो।
आजको बैठकमा विशेष गरी मोदी सरकारको ९ वर्ष पूरा भएको अवसरमा चलिरहेको महिनाव्यापी कार्यक्रमको समीक्षा गरियो भने आगामी कार्यक्रमहरूबारे विस्तृत चर्चा-परिचर्चा गरियो। यसै क्रममा आगामी १९ जूनको दिन हुन गइरहेको राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डाको सिक्किमको सांगठनिक भ्रमणलाई लिएर चर्चा गरियो। महिनाव्यापी कार्यक्रम अन्तर्गत हुने यस भ्रमण अवधि राष्ट्रिय अध्यक्षले एउटा वृहत जनसभाबाट सिक्किमे जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहनेछ।
सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले केन्द्र सरकारले विगत ९ वर्षमा सिक्किमको लागि गरेका सबै कामहरू अनि उपलब्धिहरूमाथि प्रकाश पार्दै सम्पूर्ण उपस्थित कार्यकर्ताहरूलाई जन-जनसम्म पुऱ्याउन काम गर्नुपर्ने आह्वान गरे। यस क्रममा उनले पार्टीको आगामी रणनीति, कार्यक्रमहरूबारे जानकारी दिँदै विभिन्न मुद्दाहरूमा पार्टीको अड़ानलाई पनि उपस्थित कार्यकर्ताहरूलाई स्पष्ट पारे। उनले आगामी राष्ट्रिय अध्यक्षको भ्रमणलाई लिएर सबै स्तरबाट तयारी गर्न आह्वान गर्दै सबै मिलेर यस वृहत कार्यक्रमलाई सफल बनाउन आह्वान गरे। बैठकलाई पार्टी उपाध्यक्ष अर्जुन राई साथै महासचिव भरत दुलालले विविध सांगठनिक विषयमाथि प्रकाश पारेका थिए। राष्ट्रिय अध्यक्षको कार्यक्रमहरूलाई लिएर खुला चर्चा-परिचर्चा पनि भएको थियो जसमा सबै उपस्थित पदाधिकारीहरूले आ-आफ्नो सुझाउहरू पेश गरेका थिए। बैठकको क्रममा विभिन्न ठाउँबाट नयाँ सदस्यहरूले पनि पार्टीमा प्रवेश लिएको जानकारी प्रदेश भाजपाले विज्ञप्तिमा जनाएको छ।
-हिस










