गान्तोक: विश्व बाइसाइकल दिवसको अवसरमा यहाँको एमजी मार्गबाट निकालिएको साइकल ऱ्यालीलाई गान्तोक नगरनिगमका उप-मेयर छिरिङ पाल्देन भोटियाले हरियो झण्डा देखाइन्। जानकारी गराइन्छ, यातायात, दिगोपन, स्वास्थ्य र शरीरको कल्याणको माध्यमको रूपमा साइकलको महत्त्वलाई बढावा दिन विश्व साइकल दिवस मनाइन्छ। राष्ट्रसंघको महासभाले साइकलको विशिष्टता, बहुमुखिता, दिगोपन र समाजमा यसको सकारात्मक प्रभावलाई मान्यता दिन अप्रेल २०१८मा आजको दिनलाई विश्व साइकल दिवसको रूपमा घोषणा गरेको थियो।
आजको ऱ्याली स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आयोजना गरिएको थियो, जसको थिम् “स्वास्थ्यको निम्ति साइकल’’ रहेको थियो। ऱ्यालाम ४१ जना साइकल चालकहरूले सहभागिता जनाएका थिए। एमजी मार्गदेखि शुरु गरिएको यस ऱ्यालीले बज्र, टाशी भ्यू पोइण्ट, गणेश टक हुँदै पुरानो एसटीएनएम अस्पतालमा अवस्थित शहरी प्राथमिक स्वास्थ्य केन्द्र परिसरसम्मको मोठ २५ किलोमीटरको यात्रा तय गरेको थियो। ऱ्याली पूरा गरेपछि साइकल चालकहरूलाई प्रमाण पत्र प्रदान गरियो। आजको ऱ्यालीमा सहभागिता जनाउने साइकल चालकहरूमध्ये नयाँ दिल्लीबाट आएका ६३ वर्षीय भारतीय सेनाका कर्णल राजेश दत्त, अवकाशप्राप्त सबैभन्दा अधिक उमेरका चालक थिए। योसँगै तीनजना सिक्किमे महिला साइकल चालकहरूले पनि २५ किलोमीटरको ऱ्याली सफलतापूर्वक तय गरिन्। उनीहरूमा डा. छुङकिला भोटिया, डा. नेहा प्रधान अनि डा. प्रार्थना खरेल रहेका थिए।

ऱ्यालीमा राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागीय सचिव छेवाङ ग्याछो, राष्ट्रिय स्वास्थ्य मिशनका मिशन निदेशक डा. अनुषा लामा लगायत अन्यको उपस्थिति रहेको थियो। यसरी नै नाम्ची जिल्ला अस्पतालको आयोजनमा नाम्चीमा विश्व साइकल दिवसको अवसरमा साइकल ऱ्याली निकालियो। यस अवधि नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख चिकित्सा अधिकारी डा. डीसी शर्मा, जिल्ला नोडल अधिकारी डा. उर्गेन शेर्पा लगायत अन्यको सहभागिता रहेको थियो। यहाँको भाइचुङ स्टेडियमबाट शुरु गरिएको साइकल ऱ्यालीलाई मुख्य अतिथि राईले हरियो झण्डा देखाएका थिए। यस ऱ्यालीमा २९ जनाले सहभागिता जनाएका थिए। यसरी नै गेजिङ, मंगन जिल्लामा पनि विश्व साइकल दिवस पालन गरियो।










