जीटीएको कन्ज्युमर अफियर्स विभागको अगुवाईमा खरसाङ बजारको विभिन्न दोकानहरूमा सचेतनासहित निरीक्षण कार्य सम्पन्न

IMG-20230602-WA0256.jpg

खरसाङ: खरसाङ बजारको दोकानहरूमा आज कन्ज्युमर अफियर्स विभाग र अन्य विभिन्न विभागहरूका तर्फबाट सचेतनासहित निरीक्षण गरिएको छ। कन्ज्युमर अफियर्स विभागको दार्जिलिङ जिल्लाको सह निर्देशक निलय सरकारको अगुवाईमा खरसाङ बजारको विभिन्न दोकानहरूमा सचेतनासहित निरीक्षण गरिएको छ। बिहान ११.३० बजेदेखि खरसाङको मोटर स्ट्याण्डका दोकानहरूबाट शुरु गरेर खरसाङ बजार बजारको विभिन्न दोकानहरूमा निरीक्षण गरिएको छ। उक्त निरीक्षण कार्यमा जीटीएको कन्ज्युमर अफियर्स विभाग, फुड सेफ्टी, लिगल मेट्रोलेजी विभाग, खरसाङ नगरपालिका, अग्नि शमन विभाग, जीएसटी विभाग, पुलिस विभाग आदि जस्ता विभागहरूबाट अधिकारीहरू उपस्थित रहेका थिए। उक्त निरीक्षण कार्यमा विभिन्न दोकानहरूमा एमआरपी, बील, जीएसटी, ट्रेड लाईसेन्स, ओजन, फायर सेफ्टी, फुड लाईसेन्स, बिक्रीमा राखिएको सर सामानहरू बनिएको समय र यसको मियाद जस्ता विषयहरूमा चेक गरिएको थियो भने जनचेतना पनि गरिएको छ।यसावधि विभिन्न दोकानहरूमा चेक गर्दा धेरै जस्तो दोकानहरूमा पाइएको समय सकेर पनि बिक्री गरिएको विभिन्न सामानहरूलाई फ्याँक्ने कार्य गरिएको थियो भने कतिवटा दोकानहरूमा विभागले भनेको जस्तो मापदण्ड नपाएको खण्डमा नोटिस पनि जारी गरिएको छ। त्यसरी नै कतिवटा दोकानहरूबाट समय काटेर पनि राखिएको सामानहरू नगरपालिकाको गाड़ीमा हालेर फ्याँक्ने कार्य गरिएको छ। धेरै जस्तो दोकानहरूमा फायर सुरक्षा नभएकोले दुई दिनभित्रमा फायर सेफ्टी लगाउने निर्देश जारी गरिएको छ। कतिवटा मिठाई, चिया खाजा र खाना पकाउने दोकानहरूका किचनको पनि निरीक्षण गरिएको थियो। यसावधि विभागले कतिवटा कोल्ड ड्रिङ्गसहरू, नानीहरूका मिठाईहरू, कतिवटा दोकानबाट रस मिठाईहरू, कतिवटा प्याकेटका सामानहरू पनि फ्याँक्ने कार्य गरिएको छ भने एउटा सुन मरमत्ति गर्ने दोकानबाट केही सुनका टुक्राहरू पनि जफ्त गरिएको छ। उक्त निरीक्षण कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको कन्ज्युमर अफियर्स विभागका सह निर्देशक निलय सरकारले आज खरसाङ बजारमा रहेका दोकानहरूका सचेतनासहित निरीक्षण गरिएको बताउँदै यस निरीक्षण कार्यमा विभिन्न विभागहरूका अधिकारीहरू उपस्थित रहेको जानकारी गराएका छन्। उनले यस निरीक्षण विषयमा भने, यो कार्यक्रम जिल्ला कन्ज्युमर प्रोटेक्शन काउन्सिलद्वारा प्रस्ताव पारित गरेर गरिएको हो। यसभन्दा पहिला दार्जिलिङमा गरिएको थियो जुन सफल भएको थियो। त्यसैले आज हामीले खरसाङ बजारमा गरेका छौं। यस्तो निरीक्षण कार्य आज मात्र होइन तर दुई दिनपछि पनि हुनसक्छ, दश दिनपछि पनि हुनसक्छ। उनले अघि भने, खरसाङमा हामीले निरीक्षण गर्दा धेरै दोकानहरूमा समय सीमा नाघेका सर सामानहरू बिक्री गर्न राखिएको पायौं। धेरैवटा दोकानहरूमा फायर सेफ्टी थिएन र दुई दिनभित्रमा झट्टै लगाउने निर्देश जारी गरेका छौं। त्यसरी नै कतिवटा दोकानमा नोटिस जारी गरेका छौं भने कतिवटा दोकानबाट फाइन पनि लिएका छौं। आज हामीले केवल सचेतना गराएका छौं तर भविष्यमा पनि यस्तै पाइए कार्वाही गरिनेछ।’

पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको कन्ज्युमर अफियर्स विभागको एमओडी सभासद श्याम शेर्पाले आजको निरीक्षण विषयमा हामी खुशी छौं भनी बताउँदै आज खरसाङ बजारमा विभिन्न विभागहरूका उपस्थितिमा निरीक्षण गरी कुनै कड़ा कार्वाही गरिएन तर भविष्यमा पनि यस्तै पाइएको खण्डमा कड़ा कार्वाही हुने पनि बताएका छन्। सभासद श्याम शेर्पाले भने, विभागले आज केवल चेताउनी मात्र दिएको छ र केही दिनमा खरसाङमा विभिन्न विभागहरू र च्याम्बर अफ् कमर्सलाई लिएर सचेतना कार्यक्रम आयोजना गरिनेछ। आजको कार्यक्रम राम्रो भयो। विशेष रूपमा दोकानतिर समय नाघेका सर सामानहरू पनि पाइएकोले दोकानदारहरूलाई यस्ता समय नाघेका सर सामानहरू नराखिदिने अनुरोध पनि गर्दछु।’ यस अवसरमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आजको निरीक्षण कार्यप्रति सन्तुष्ट व्यक्त गर्दै निरीक्षण कार्य भईरहनु पर्ने तथा यस्ता कार्य राजनैतिक नेताहरूले मात्र होइन तर आजको जस्तो यसरी नोकरशाहीहरूले विभागीय रूपमा गर्दै राम्रो भएको बताएका छन्। उनले खरसाङ नगरपालिकाले पनि बेला बेला निरीक्षण गर्ने गरेको र आज विभागीय रूपमा निरीक्षण गर्दा राम्रो भएको बताएका छन्। उनले आज निरीक्षण गर्ने सबै विभागप्रति आभार प्रकट गरेका छन्। त्यसरी नै फुड एण्ड सेफ्टी विभागबाट खरसाङको फुड सेफ्टी अफिसर राहुल कार्जी, जीएसटी विभागको अधिकारी शरण लिम्बु, लिगल मेट्रोलोजी विभागबाट डेपुटी कन्ट्रोलर अफ् नर्थ बेंगाल उत्पाल विस्वास, शमन विभागबाट बीबी गदाईली आदिले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्। यस निरीक्षण कार्यमा लिगल मेट्रोलोजी विभाग खरसाङको इन्स्पेक्टर निलम तामाङ, खरसाङ व्यवसायी संगठनबाट सभापति फिरोज अख्तर, सचिव राजेन्द्र प्रसाद, खरसाङ नगरपालिकाको सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा, पुलिस विभागबाट अधिकारीहरू पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement