२ जूनः खरसाङ गोर्खा पार्वत्य खेलकुद संघ (केजीएचएस)-ले आउटडोर सत्रपछि इण्डोर सत्रको तयारी शुरु गरेको छ। आउँदो इण्डोर सत्रको तयारीबारे चर्चा गर्न आज केजीएचएसए-द्वारा एउटा सभाको आयोजन गरियो। संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा भएको सभाको सञ्चालन सचिव निर्मल गुरुङले गरे। सभामा गत मई महिना सम्पन्न भएको क्रिकेट प्रतियोगिता र खरसाङ प्रीमियर लीग फूटबलको साथमा मिनी म्याराथनबारे पनि चर्चा-परिचर्चा गरियो। त्यसपछि सभामा क्यारम प्रतियोगिताको साथ इण्डोर सत्रको शुरुवात गरिने फसेला गरियो। आउँदो २४ र २५ जूनमा धर्मे तामाङ स्मृति क्यारम प्रतियोगिताको आयोजन गरिनेछ। प्रतियोगिता एकल र युगल वर्गमा हुनेछ। दुवै वर्गमा आकर्षक ट्रफीको साथमा नगद पुरस्कार पनि प्रदान गरिनेछ। क्यारम प्रतियोगितापछि केजीएसएच-ले टेबल टेनिस, चेस र ब्याडमिण्टन प्रतियोगिताको पनि आयोजन गर्ने जानकारी संघका उपाध्यक्ष फूर्बा घिसिंगले दिएका छन्।