सिक्किम विश्वविद्यालयको नेपाली विभागमा पहिलोपल्ट नाटकको प्रस्तुति

n5054303301685642233487222c83510a2c38a3cf5ba530bcae58ff15e5cc878ebaa1afcedb86b5a8a68beb.jpg

गान्तोक: सिक्किम विश्वविद्यालयको नेपाली विभागमा आज ‘सिर्जना र समय’ कार्यक्रम आयोजना गरियो। सिक्किम विश्वविद्यालय नेपाली विभागका पीएचडीका शोधार्थीहरूले प्रतिमहिना आयोजना गर्ने ‘सिर्जना र समय’ कार्यक्रमको यस १६औँ प्रकरणको विषय ‘भारतीय नेपाली नाटक’ रहेको थियो।

कार्यक्रमको अध्यक्षता विभागीय प्रमुख प्रोफेसर डा. कविता लामाले गरेकी थिइन् भने विभागका सबै प्राध्यपकगण कार्यक्रममा उपस्थित रहेका थिए।

कार्यक्रममा पीएचडीका शोधार्थी गायत्री थापाले भारतीय नेपाली नाटकको विकास परम्पराबारे आफ्नो वार्ता प्रस्तुत गरेकी थिइन्। उनले भारतीय नेपाली नाटक पर्सियन थिएटरदेखि लिएर सडक नाटकसम्म आइपुगे तापनि समकालीन समयमा नाटकहरूको मञ्चन धेरै कम हुँदै गएको कुरा राखिन्।

भारतीय युवा साहित्यकारहरू नाटक विधातिर पनि अग्रसर हुनु आवश्यक छ नत्र भने भारतीय नेपाली साहित्यबाट नाटक विधा विस्तारै हराएर जाने सम्भावना छ भन्दै शोधार्थी गायत्री थापाले नाटक विधाको आवश्यकता र महत्त्वबारे आफ्नो गम्भीर विचार प्रस्तुत गरिन्।

यस कार्यक्रमको मुख्य आकर्षण नाटक प्रस्तुति थियो। विभागका दोस्रो अनि चौथो सत्रका विद्यार्थीहरूले सिक्किमेली नेपाली नाटककार श्री ध्रुव लोहागणको एकाङ्की ‘मन’-को प्रदर्शन गरेका थिए। सन् २०११ मा स्थापित नेपाली विभागले आजसम्म कुनै पनि नाटक आयोजन गरेको थिएन। लगभग 12 वर्षभित्रमा विभागमा प्रदर्शित यो पहिलो नाटक हो भन्ने विभागका अध्यक्ष प्रोफेसर कविता लामाले बताइन्।

ध्रुव लोहागणद्वारा लिखित ‘मन’ एकाङ्कीको निर्देशन चौथो सत्रकी विद्यार्थी कविता शर्माले गरेकी थिइन् भने नाटकमा वृद्धा वृद्धको भूमिका ओमकुमार छेत्री र गीता छेत्रीले गरेका थिए। रविन र करुणाको भूमिका रविना माझी र विमल राईले गरेका थिए भने सरमनको भूमिकामा विशाल मगर थिए।

सिर्जना र समय कार्यक्रममा गीत, कविता वाचनसँगै विभागका प्राध्यापकगणले आआफ्नो विचार राखेका थिए। कार्यक्रमको सञ्चालन शोधार्थी प्रितम घतानीले गरेका थिएन भने शोधार्थी रेणुका बस्नेतले स्वागत सम्बोधन राखेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement