३० मईः चमत्कारी कप्तान महेन्द्र सिंह धोनीको अगुवाईमा चेन्नई सुपर किंग्सले पाँचौंपल्ट इण्डियन प्रीमियर लीग (आईपीएल)-को खिताब जित्यो। सोमवार रिजर्भ डे-मा वर्षाले गर्दा अबेर रातिसम्म खेलिएको फाइनलमा चेन्नईले गत सीजनको च्याम्पियन गुजरात टाइटन्सलाई डकवर्थ-लुईस नियमअन्तर्गत ५ विकेटले पराजित गऱ्यो। म्याचपछि भावुक देखिएका च्याम्पियन टीमका कप्तान धोनीले सन्न्यासको अड़कलहरूलाई खारेज गर्दै प्रशंसकहरूका असीमित मायालाई कदर गर्दै आउँदो सीजनमा पनि खेल्ने वाचा गरे। यसको साथमा उनले यस सीजनको शुरुवातदेखि नै शरीरले उनलाई साथ नदिएको पनि खुलासा गरे। धोनी अब आईपीएलको आउँदो सीजनमा पनि खेलेर प्रशंसकहरूलाई खुशी बनाउन चाहन्छन्।
आईपीएलको शुरुवातदेखि नै यो धोनीको अन्तिम सीजन हुन सक्ने अड़कलबाजी शुरु भएको थियो। यसैकारण हरेक मैदानमा दर्शकहरूले उनी अनि उनको टीमलाई असीमित माया दिए। गुजरात टाइटन्स विरुद्ध फाइनलमा ५ विकेटले जीत हासिल गरेपछि धोनीसँग के यो उनको अन्तिम सीजन हो भनी प्रश्न गरिँदा चेन्नई सुपर किंग्सका कप्तानले भने, मेरो परिस्थितिहरूलाई ध्यानमा राख्नु हो भने यो सन्न्यास लिने सर्वश्रेष्ठ समय हो। मेरो निम्ति अब बिदा लिइरहेको छु भन्ने सजिलो छ तर आउँदो ९ महिनासम्म कठोर मेहनत गर्नु अनि अझ एक सत्र खेल्नु चाहिँ कठिन छ। शरीरले पनि साथ दिनु पऱ्यो। जे भए पनि चेन्नईका प्रशंसकहरूका मायालाई ध्यानमा राखेर म उनीहरूलाई पनि केही उपहारमा दिन चाहन्छु अनि अझ एक सीजन खेल्न चाहन्छु। उनीहरूका माया र जोशको निम्ति मैले पनि केही गर्नु पर्नेछ। यो मेरो करियरको अन्तिम चरण हो। यहीँबाट शुरुवात भएको थियो अनि पूरा स्टेडियमले मेरो नाम लिइरहेको थियो। यस्तो चेन्नईमा पनि भएको थियो तर म मैदानमा फर्किएर खेल्न सक्छु अनि खेल्नेछु। फाइनल म्याचबारे धोनीले भने, आज हाम्रो शुरुवात राम्रो रहेन तर हाम्रा ब्याटिंग क्रमले राम्रो प्रदर्शन गऱ्यो। कसले दबाउ सहन गर्न सक्छन् भन्ने हामीलाई थाहा छ। रहाणे जस्ता खेलाड़ी हुनु असल कुरा हो। यसबाहेक रायुडूको ईनिंग्सलाई त उनले मात्र नभएर हामी पनि याद राख्नेछौं। उनी सदा असल प्रदर्शन गर्न चाहन्छन् अनि आज उनको दिन थियो।
फाइनल म्याचः
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनायो। साई सुदर्शनले सर्वाधिक ९६ रन बनाए। उनले ४७ बल खेलेर ८ वटा चौका र ६ वटा छक्का लगाए। यसबाहेक रिद्धिमान साहाले ५४, शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्ड्याले अविजित २१ रन बनाए। जवाफमा वर्षाले गर्दा चेन्नई सुपर किंग्सलाई १५ ओभरमा १७१ रन बनाउने संशोधित लक्ष्य हासिल भयो, जसलाई धोनीको टीमले ५ विकेट गुमाएर हासिल गऱ्यो। म्याचको अन्तिम २ बलमा जीतको निम्ति १० रनको आवश्यकता थियो अनि रविन्द्र जडेजा (अविजित १५)-ले मोहित शर्माको बलिंगमा छक्का र चौका लगाएर टीमलाई रोमाञ्चक जीत दिलाए। चेन्नईबाट प्लेयर अव् द म्याच रहने डेवोन कन्वेले सर्वाधिक ४७ रन बनाए। उनले २५ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक शिवम दुबेले ३२, अजिंक्य रहाणेले २७, रुतुराज गायकवाड़ले २६ र अम्बाती रायुडूले १९ रन बनाए।










