कालचिनी। भोटाङको शीरबाट बगेर आउने पाना र बासरा नदीको भेलले सेन्ट्रल डुवर्स चियाबारीको बासरा नदी र पाना नदीमा बाँधहरू भत्किएकोले हाल सेन्ट्रल डुवर्स चियाबारीको बासिन्दाहरू न त पाना नदी तरेर कालचिनी आउन जान सक्छन् न नै बासरा नदी तरेर जयगाउँतर्फ। दुवै नदीको चेपारोमा सेन्ट्रल डुवर्स चियाबारी लगायत बुथुरी बनबस्ती बासिन्दाहरूको अहिले हिँड़डुल बन्द भएको छ।
नदीले सुरक्षा बाँधहरू सबै भत्काएर लगेकोले यसको निर्माण नहुँदा गाउँ नै नदीमा डुब्ने सम्भावना रहेको अवस्थाबीच आज उक्त क्षेत्रको परिदर्शन गर्न तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँ र तिनको टोलीहरू सेन्ट्रल डुवर्स चियाबारीको बासरा र पाना डिभिजन पुगेको थियो।

आज उक्त क्षेत्रको परिदर्शन गरेपछि बिरेन्द्र बारा उराउँले बाँधको मरम्मती अहिले गर्न नसके तापनि अलिपुरद्वार जिल्ला शासक र कालचिनी बीडीओलाई यसको जानकारी दिएको र अहिले नदीले भेलमा काम गर्न असम्भव भएकोले प्रशासनबाट जेसीबी र एस्केलेभेटर मशिन ल्याएर आपतकालिन काम गर्ने आश्वासन पाएको बिरेन्द्र बारा उराउँले जनाएका छन्।










