पहिरोले सम्पर्क विच्छेद बन्दै दुर्गम बक्साद्वार र आदमा पहाड़का बासिन्दाहरू

IMG-20220623-WA0141.jpg

कालचिनी। असारे झरीको शुरुवातमा नै दर्कने पानीले एकातिर कालचिनी खण्डको समतले क्षेत्रमा बाढ़जन्य परिस्थितिको सृजना भएको छ भने अर्कोतिर दुर्गम पहाड़ी गाउँ बक्साद्वार र यसै अन्तर्गत पर्ने आदमा पहाड़का बासिन्दाहरू यसघरि पहिरोले बाटो जम्मै धस्काएर लगेपछि कालचिनी आउजाउ गर्न नसकिरहेको अवस्थाको सामना गर्न परेको बक्साद्वार बासिन्दा जनाएका छन्। गत १७ जुनको राती परेको मुसलधारे बर्षाले दुर्गम बक्साद्वार पहाड़को सदरबजार गाउँ नजीकको हिँड़ने बाटो र बक्साफोर्ट माथि खाटालाईन चढ़ने डाँड़ामा पहिरो जानाले दुर्गम बक्साद्वार पहाड़को लाप्चाखा, खाटालाईन, सदरबजार, डाँड़गाउँ, लालबंगला, टाँशीगाउँ, ओचुलुम र चेतेखा गाउँका बासिन्दाहरू ज्याम जोखिममा हालेर आउजाउ गर्न बाध्य बनेका छन्।
अर्कोतिर बक्साद्वार पहाड़को उत्तर पश्चिम थुममा अवस्थित आदमा, लामना, सेवगाउँ, तोरीबारी पोखरी, पानबारी गाउँका डुक्पा बासिन्दाहरू अहिले आदमा जाने पहाड़ी बाटो नै पहिरोले लगेपछि थुमभित्र कैँजिएर बस्न बाध्य बनेको आदमा गाउँका बासिन्दा याङ्का डेमा डुक्पाले फोन मार्फत जनाएकी छन्। बाटो नै पहिरोले लगेपछि पिउने पानीको सर्वराह बन्द भएको र खोला र झर्नाको प्रदुषित पानी संगालेर पिउन बाध्य भएको डुक्पा बासिन्दाहरूले जनाएका छन्। आदमा निवासी याङ्का डेमा डुक्पाले पोखरी र आदमाबीच हिँड़डुल गर्ने बाटो पहिरोले लगेपछि एकअर्काको गाउँहरूमाझ पनि सम्पर्क विछिन्न भएको अवस्था भएको र रासन पानी लिन कालचिनी पुग्न नसकेको स्थितिमा सरकारी सुविधा जीआर केही सुविधा पनि गाउँलेहरूले नभेटाएको बताएकी छन्। यत्रो क्षयक्षतिको बेला पनि न त ग्राम पञ्चायत न नै ब्लक औ जिल्ला प्रशासनको मदत नपाएको आदिम डुक्पा जनजातिका मानिसहरूले बताएका छन्। बाटो बनाउन ग्राम पञ्चायतले नसक्ने र राहतको निम्ति धरि प्रशासन नआईपुगेको बक्साद्वार बासिन्दाहरूले गुनासो गरेका छन्। ऐतिहासिक बक्साफोर्ट रहेको गाउँ र बक्सा पर्यटनको केन्द्रबिन्दु मानिने भोटाङ सीमान्तमा रहेको गाउँलेहरू यतिखेर असहाय महसूस गर्न थालेका छन्।

About Author

Advertisement