२४ मईः मुम्बई इण्डियन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को क्वालीफायर २ मा स्थान बनायो। बुधवार खेलिएको एलिमिनेटर म्याचमा पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले लखनऊ सुपर जाइण्ट्सलाई ८१ रनले पराजित गऱ्यो। चेन्नईमा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनायो। क्यामरन ग्रीनले ६ वटा चौका र एउटा छक्काको साथ २३ बलमा सर्वाधिक ४१ रन बनाए। यसबाहेक सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६ र नेहार वाधेराले २३ रनको योगदान दिए। लखनऊका बलरहरूमा नवीन उल-हकले सर्वाधिक ४ विकेट लिए। यसबाहेक यश ठाकुरले ३ विकेट हासिल गरे। जवाफमा लखनऊ सुपर जाइण्ट्सको टीम १६.३ ओभरमा १०१ रन बनाएर अलआउट भयो। मार्कस स्टोइनिसले ५ वटा चौका र एउटा छक्काको साथ २७ बलमा सर्वाधिक ४० रन बनाए। यसबाहेक काइल मायेर्सले १८ र दीपक हूडाले १५ रन बनाए। लक्ष्यलाई पछ्याउँदै लखनऊले एक समय २ विकेटमा ६९ रन बनाइसकेको थियो तर अन्तमा टीम १०१ रनमा अलआउट भयो। मुम्बईका बलरहरूमा आकाश माधवालले ३.३ ओभरमा केवल ५ रन खर्च गरी सर्वाधिक ५ विकेट लिए। मुम्बई इण्डियन्सले अब शुक्रवार खेलिने क्वालीफायर २-मा गुजरात टाइटन्सको चुनौती स्वीकार्नेछ। त्यस म्याचको विजेताले २८ मईमा खेलिने फाइनलमा चेन्नई सुपर किंग्सको सामना गर्नेछ।