युवा पत्रकार योगेन तामाङलाई राम पात्रो स्मृति पुरस्कार

IMG-20230524-WA0278.jpg

गान्तोकः सिक्किमको प्रतिष्ठित मिडिया हाउस सिक्किम एक्सप्रेस र हिमाली बेलाले २०२२-२३ को राम पात्रो उत्कृष्ट पत्रकारिता पुरस्कार योगेन तामाङलाई प्रदान गरेको छ। यसरी नै सिक्किम एक्सप्रेस र हिमाली बेलामा कार्यरत श्रमजीवि पत्रकारलाई प्रदान गरिने उत्कृष्ट श्रमजीवि पत्रकार पुरस्कार देवकुमार दर्जीलाई प्रदान गरेको छ। राम पात्रो पुरस्कार २००५ मा स्थापना गरिएको थियो। सिक्किममा पत्रकारिताको क्षेत्रमा योगदान दिएर सिक्किम एक्सप्रेस र हिमाली बेला समाचार पत्र शुरु गर्ने स्वर्गीय राम पात्रोको स्मरणमा यो पुरस्कार स्थापना गरिएको थियो।

सिक्किम एक्सप्रेस र हिमाली बेलाले यस वर्षको राम पात्रो उत्कृष्ट पुरस्कारद्वारा सम्मान गरेका योगेन तामाङको सिक्किममा डिजिटल मिडिया हाउस स्थापना गर्न महत्त्वपूर्ण योगदान रहेको छ। सिक्किम क्रोनिकलका सह संस्थापक योगेन तामाङले लगभग सात वर्षको पत्रकारिता अवधिमा दिएको योगदानलाई कदर गर्दै राम पात्रो उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। यसरी नै राम पात्रो उत्कृष्ट क्षमजीवि पत्रकार पुरस्कारद्वारा सम्मानित देवकुमार दर्जी हिमाली बेलाका सहायक सम्पादक हुन्। उनले २०१७ देखि हिमाली बेलाको सम्पादनमा आफ्नो योगदान दिॅंदै आएका छन्। राम पात्रो पुरस्कार समारोह बुधवार गान्तोकमा आयोजन गरिएको थियो।

यस समारोहमा सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोले मुख्य अतिथिका रूपमा उपस्थित रहका थिए। आईपीआर विभागकी सचिव नम्रता थापा र मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतको विशेष उपस्थितिमा आयोजित समारोहमा सिक्किम एक्सप्रेस परिवारले राम पात्रो पुरस्कार समितिले हेमा सुन्दासलाई अभिनन्दन जनाएको छ।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित रहेका विधायक आदित्य गोलेले सबै पुरस्कृत पत्रकारहरूलाई बधाई दिंदै राज्यमा पत्रकारिता क्षेत्रको गुणात्मक विकासमा युवाहरूलाई प्रोत्साहन गर्न आग्रह गरे। प्रजातन्त्रको विकासका लागि पत्रकारिता महत्त्वपूर्ण भएकाले सिक्किमबाट जिम्मेवारपूर्ण पत्रकारिता निर्वहन होस् भन्ने उनले आग्रह पनि गरे। सोशल मिडियामा प्रचार हुने गलत सूचनाले समाजलाई दिग्भ्रमित बनाउने स्थिति छ भन्दै उनले जिम्मावार पत्रकारहरूबाट समाजलाई सहि सूचना सम्प्रेसण हुनुपर्ने कुरामा जोड दिए।

मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले नयाँ पुस्ताका पत्रकारलाई सहि दिशानिर्देश हुनुपर्ने आह्वान गरेका छन्। यसरी नै आईपीआर विभागकी सचिव नम्रता थापाले गुणात्मक पत्रकारिताको तालिमका लागि एउटा उत्कृष्ट तालिम मोडल बनाउनु पर्ने विषयमा बल दिइन्। कार्यक्रमलाई सिक्किम एक्सप्रेसका सम्पादक अमित पात्रो तथा सम्मानितद्वय योगेन तामाङ र देवकुमार दर्जीले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement