कालचिनीः डुवर्स फूटबल एकाडेमीबाट प्रशिक्षित फूटबल लेडी मञ्जु उराँव सोमबार कलकत्ताबाट कञ्चनकन्या एक्सप्रेसमा फर्किन्दा हेमिल्टनगञ्जमा भव्य स्वागत गरीएको थियो भने मंगलाबार पुनः मञ्जु उराँवलाई डुवर्स फूटबल एकाडेमीको चीफ कोच कुमार लामाले कालचिनीको ऐतिहासिक यूरोपियन मैदानमा एकपल्ट सम्वर्द्धना प्रदान गरेका छन्।
मङ्गलबार सो अवसरमा समाजसेवी पवन योल्मो र ओमदास लोहारको उपस्थितिमा फूटबलर मञ्जु उराँवलाई खदा पहिराएर स्वागत तथा सम्वर्द्धना प्रदान गरीएको थियो। मञ्जु उराँव जस्तै अन्य केटा केटीहरूले पनि भविष्यमा राम्रो खेलेर सुनाम राख्ने उपस्थित प्रशिक्षणरत खेलाड़ी केटा केटीहरूलाई कोच कुमार लामाले आह्वान गरेको थियो। मञ्जु उराँव एकजना गरीब कृषक घरको सन्तान भएको र तिनलाई प्रशासन पक्षले पनि उचित सहायता प्रदान गर्नुपर्ने औ खेल क्षेत्रमा उत्साह प्रदान गर्न जिल्ला औ ब्लक प्रशासन अघि आए धेरै राम्रो हुने डीएफए कोच कुमार लामाले अपील गरेका छन्। मञ्जु उराँवले आफूले गोवामा चर्चिल ब्रदर्सबाट खेल्न पाएकी र अञ्जु तामाङ र बाला देवी जस्ता प्रख्यात खेलाड़ीहरूसित खेल्न पाएकी र बेङ्गलुरु एफसी र चर्चिल ब्रदर्सबाट अनुबन्धको प्रस्ताव आएको तर अहिले नै केही सम्झौता गर्न नसकेकी बताएकी छन्। यता कोच कुमार लामाले मञ्जु उराँवको खेला राम्रो रहेको र तिनले आफ्नो अनि परिवारको भविष्य बनाउन लगनसित चुनाउ गर्नुपर्ने बताएका छन्। सो अवसरमा आएका समाजसेवी पवन योल्मो र ओमदास लोहारले पनि मञ्जु जस्तै अझै प्रतिभाहरू खोजी निकाल्न डीएफएले असल प्रयास चलाईरहेकोमा कोच कुमार लामालाई धन्यवाद ज्ञापन गरेका छन्।