(लघुकथा)               मानवता

00-1-Humanity

      ‘नानीहरू! आजभोलि देशमा चारैतिर हिंसा, द्वन्द्व फैलिएको छ। मान्छेले एकअर्कालाई चिन्न छोड्यो। एकअर्काको दु:ख बुझ्न् छोड्यो, बिस्तारै मानिसको हृदयबाट मानवता हराउँदै गइसक्यो। उफ! के हुन थाल्यो हिजोआज, के दिनकाल आए यस्ता! 

    यत्ति सानो कुरामा तिमीहरूले यसरी झगडा गर्नु हो त विकास? तिम्रो कलम त लगेको थियो नि आदर्शले, माग्दा हुन्थे न र? तिमीहरू पनि अरू मान्छेजस्तै हिङ्स्रक भयौ। सानो कुरामै एकाअर्कालाई  प्रहार गर्न थाल्यौ। त्यस्तो गर्नु हुन्न। साथीभाइजसरी मिलेर बस्नुपर्छ।’

     आठौँ कक्षाका विद्यार्थी आदर्श र विकासको झगडाको मीमांसा गर्दै त्यो दिन मानवताबारे धेरै कुरा भनिन्। उनीहरूलाई  धेरै कुराको बोध गराउँदै  सही अर्थमा मान्छे हुने अर्ती दिँदै कक्षाबाट बाहिर आइन् ममता। 

  आज ममताको मन धेरै खिन्न भएको छ। एउटा सानो कलमको निम्ति भएको विद्यार्थीको झगडाले उनको मन बिथोलेको छ। उनको आँखासामु  बारम्बार विकासको त्यो उग्र रूप आइरहेको छ। कस्तो भयानक रूप। उफ!! मानौं आँखाबाट रगतै चुहिन्छ जस्तो। हातमा केही हतियार हुन्थ्यो भने सोझै प्रहार गर्ने थियो होला विकासले आदर्शलाई। आदर्श पनि कस्तो! कलम लुकाएर किन चुपचापले बसेको होला!  कमसेकम मैले लगेँ त भन्नु! कस्तो अर्कालाई दु:ख दिएर रमाउन मन लागेको?  साँच्चै! यो संसारबाट मानवता बिस्तारै हराउँदै जान थाल्यो। 

     आउँदा दिनहरू केकस्ता हुने हुन्? के मान्छेले मान्छेलाई चिन्छ होला? यस्तै कुरा सोच्दै ममताको त्यो दिन बित्यो। करिब २-३० बजे स्कुल छुट्टी हुन्छ। सबै विद्यार्थी घर जान लाग्छन्, उनी पनि प्रधान आचार्यलाई आजको घटनाबारे अवगत गराउन भनी अफिसतर्फ लाग्छिन्। एकछिन कुराकानी गरेपछि उनी घर जान निस्किन्छिन्, अचानक मौसम खराब हुन्छ। एकछिन अघिसम्म लागेका घाम आकाशमा हराउँछन्, चारैतिर बादल फैलिन्छ, पानी पर्न थाल्छ अन्नधन्न।   

      उनले बिस्तारै गाडी स्टार्ट गर्छिन्। स्कुल गेटबाट निस्केर उनी घरतर्फ आइरहेकी हुन्छिन्। आउँदा त्यो बाटाको घुमाउरो ठाउँमा एउटा चौधपन्ध्र वर्षको केटाले आफू स्वयं भिजेर अर्को एउटा सानो बच्चालाई छाता ओढाएर साइकलमा ठेलेर ल्याएको देखिन्।  केटो त परिचित जस्तो लाग्छ, पानीले गर्दा केही राम्रोसँग  देखिएको हुँदैन। छेउमा गएपछि उनलाई थाहा हुन्छ कि त्यो साइकल ठेल्ने केटो त विकास हो।  बिस्तारै उनले गाडी रोक्छिन्।

  गाडी रोकिएको देख्नेबित्तिकै त्यो सानो केटो आएर ममताको गाडीमा चड्न खोज्छ, उनले पनि बोलाउँछिन्।  गाडीमा चडेर त्यो सानो केटो भन्न थाल्छ, ‘गुरुआमा धन्न हजुर आइपुग्नु भयो, नत्र विकास दाइले घरसम्म भिज्नु पर्थ्यो। किनकि उनले आफ्नो छाता त मलाई दिनुभयो। हेर्नुस् न गुरुआमा! मलाई आज आमा लिन आउनुभएन। बिरामी हुनुहुन्छ त्यसैले विकास दाइले मलाई लैजानु भएको स्कुलबाट। मलाई छाटा पनि दिनुभयो आफू भिजेर।’

 त् यो बच्चाले के भन्यो अरू कुरा ममताले सुनिनन्। विकासको यो रूप देखेर उनलाई धेरै खुसी लाग्यो। आफ्नो ब्यागमा भएको चकलेट दिँदै  माया अलिकति गरेर उनी पुनः गाडी चलाउन थालिन्।

     त्यो अबोध शिशु भन्दै जान्छ, ‘जान्नु हुन्छ गुरुआमा? विकासदाइ हामीलाई धेरै माया गर्नुहुन्छ…’***

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *