सिलगढी: बङ्ग्लादेशको ढाकामा आयोजित दोस्रो बङ्गमैत्री अन्तर्राष्ट्रिय आमन्त्रण योगा कप प्रतियोगितामा चन्द्रा मल्लिकले स्वर्ण पदक जितेकी छिन्। चन्द्रा आज बङ्ग्लादेशबाट सिलगढी आफ्नो घर फर्किन्। तिनी सिलगढी नगरनिगमको ३० नम्बर वार्डको दक्षिण देशबन्धुपा इलाका निवासी हुन्। आज तिनी घर फर्किआएपछि परिवारका सदस्यहरूले तिनलाई स्वागत जनाए। दोस्रो बङ्गमैत्री अन्तर्राष्ट्रिय आमन्त्रण योगा कप यसै महीना ५ र ६ मईमा बङ्ग्लादेशको ढाकास्थित बङ्गबन्धु स्टेडियममा सम्पन्न भयो। सो योगा प्रतियोगितामा भारत र बङ्ग्लादेशका मोठ ४५० जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। जसमा भारतका १५० जना खेलाडीहरू सामेल थिए। यस प्रतियोगिता चारवटा विभागमा खेलाइयो। यस प्रतियोगितामा सिलगढीबाट ७ जनाले अंश ग्रहण गरेको थियो जसमा चन्द्रा मल्लिक र ज्वेल रायले स्वर्ण पदक जितेर सिलगढी सहरको नाम उच्च पारेको छ। स्वर्ण पदक विजेता चन्द्रा मल्लिकले बताएअनुसार यो निक्कै कठिन थियो। यसमा परिवार तथा योग गुरुहरूले आफूलाई निक्कै सहयोग गरे। शरीर, स्वास्थ्य र मनलाई राम्रो बनाइ राख्नको लागि योग गर्ने तिनले सन्देश दिइन्।