२० जूनः सुबोथ फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित अण्डर-१६ युथ लीग नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा युनाइटेड सिलगढ़ी फूटबल एकाडमी च्याम्पियन भयो। मिलनमोड़को सेण्ट जोन्स स्कूल नजिक मेचे बस्तीमा स्थित नेटवर्क मिनिष्ट्री सेण्ट्रल खेल मैदानमा आज भएको फाइनल म्याचमा युनाइटेड सिलगढ़ी फूटबल एकाडमीले युनाइटेड सिक्किम फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो।

आज भएको फाइनलमा मुख्य अतिथिको रूपमा भारतीय फूटबल टीमका पूर्व कप्तान तथा युनाइटेड सिक्किम फूटबल क्लबका प्रमुख भाइचुङ भूटिया उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिको रूपमा सुबोध एफए-का निदेशक सुरेन खवास, श्रीमती सुबोथ मुखिया, मारिना सिमिक लेप्चा अनि खेल सामग्री निर्माता कम्पनी सिल्को-का प्रतिनिधि गौरव भट्टाचार्य, स्माइल लेप्चा र पूर्व फूटबलर दिपेन्द्र शर्मासहित अन्यान्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। विजेता टीमलाई आकर्षक ट्रफीको साथमा ४ हजार अनि उपविजेता टीमलाई आकर्षकक ट्रफीको साथमा २ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसबाहेक व्यक्तिगत पुरस्कारहरूमा सिलगढ़ी युनाइटेड एफए-का एनोस राईले सर्वाधिक स्कोरर (७ गोल) र प्रवीण सुब्बाले प्लेयर अव् द म्याचको पुरस्कार जिते। सर्वश्रेष्ठ गोलकीपरको पुरस्कार युनाइटेड सिक्किम एफए-का आकाश रोयले जिते। यस अवसरमा मुख्य अतिथि भाइचुङ भूटियाको साथमा सुबोथ एफए-का प्रमुख सुबोथ मुखियाले यस टुर्नामेण्टको आयोजन गर्नुको मुख्य लक्ष्य नै खेल अनि खेलाड़ीहरूलाई जमीनी स्तरबाट प्रोत्साहन प्रदान गर्नु रहेको बताए।








