खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको उपस्थितिमा खरसाङ गिद्ध पहाड, २९ नम्बर समष्टि भित्र पर्ने नगरपालिकाको १६,१७ अनि १८ नम्बर वार्डहरुलाई लिएर चुनाव सभा सम्पन्न भयो। सभा खरसाङको नयाँ बजार स्थित टाउन हलमा आयोजित गरिएको थियो। अनित थापाले सभामा भने, “म तपाईं कै गाउँको छोरा हुँ। हाम्रो आफ्नै नाता छ। म नेता भएर होइन सेवक भएर जनताको काम गर्न चाहन्छु। यो भोट अनित थापालाई होइन खरसाङको विकास, युवाको रोजगारको निम्ति होस्। मलाई तपाईंको गाउँ अनि समाजको जरूरत छ। मलाई पहिला पनि तपाईहरुले सहयोग गर्नु भएकै हो। आज पनि अवश्य सहयोग गर्नु हुनेछ। विपक्षको मानिसहरू पनि घरमा आउनेछन्। उहाँहरूसँग पनि डेमोक्रेटिक ढंगमा व्यवहार गर्नुहोस। भोट आउँछ अनि जान्छ। तर हाम्रो सोचको परिवर्तनको अभियानमा हामी सदैव अघि बढ्नु पर्छ। राम्रो काम गर्नु गार्हो छ तर म गार्हो काम गर्नु छोड्दिन।”
दिउँसोको अघिल्लो चुनावी सभा वार्ड नम्बर १४, करवीर अनि गाडीधुरामा आएर अन्त्य गरिएको थियो।








