गान्तोकः मणिपुर राज्यको द्वन्दमा फँसेका सिक्किम राज्यका १२८ जना विद्यार्थीहरूलाई आज सकुशल गान्तोक ल्याइयो। उनीहरू सबैलाई हवाई जहाजद्वारा कलकत्ता पुऱ्याइको र त्यसपछि उनीहरूलाई सिलगढी ल्याइएको थियो। मणिपुरमा अध्ययनरत राज्यका विद्यार्थीहरूलाई मणिपुर सरकारको सहयोगमा सिक्किम फर्काउन राज्य सरकार सफल बनेको छ।
सिलगढीदेखि राज्य सरकारले गान्तोकसम्म ल्याउनको निम्ति एसएनटी बस उपलब्ध गराएको थियो। यसरी नै १२८ जना मध्ये राज्य कतिपय डाक्टरहरू मणिपुरका विभिन्न स्थानमा स्थानान्तरण गरिएको र उनीहरूलाई पनि समावेश गरेर ल्याएको हो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशमा मणिपुर राज्यमा फँसेका विद्यार्थीहरूलाई सिक्किम ल्याउनको निम्ति “अपरेशन गुरासॅं” मुख्य सचिव वीबी पाठकको नेतृत्वमा गठन गरिएको थियो।

यसरी नै मणिपुरमा भइरहेको अशान्तिलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले निरन्तर निगरानी गर्दै आइरहेको बताइएको छ। कुनै पनि अवस्थामा राज्यका विद्यार्थीहरूलाई सुरक्षित ढङ्गमा राज्य फर्काइल्याउने मुख्यमन्त्रीको प्रयास सराहनीय रहेको छ। सोही प्रकारले सिक्किम प्रशासनले पनि मणिपुरका मुख्य सचिव लगायत अन्य वरिष्ठ अधिकारीहरूसँग कुराकानी गरिरहेको बताइएको छ।









