मणिपुरमा एकसातादेखि भड्किएको जातीय हिंसामा दर्जनौँको मृत्यु

Untitled-1-copy-58

भारतीय राज्य मणिपुरमा भएको जातीय हिंसामा परेर कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गत साताको सुरुमा राज्यको मुख्य जातीय समुदायलाई अनुसूचित जनजाति (एसटी) वर्गमा समावेश गर्न लागेको कदमको विरोधमा आदिवासी समुदायहरूले निकालेको र्‍यालीपछि हिंसा भड्किएको थियो। दङ्गाकारीहरूले घर, गाडी, गिर्जाघर र मन्दिरहरूमा हमला गरेका छन्। केही विवरणहरूमा मृत्युको सङ्ख्या ५४ पुगेको बताइएको छ। त्यहाँ झण्डै १० हजार मानिसहरू विस्थापित भएको बताइएको छ।

थप सैनिक परिचालन

राज्यमा कानुनी व्यवस्था कायम राख्नका लागि हजारौँ फौजलाई त्यहाँ पठाइएको छ। कैयौँ जिल्लामा कर्फ्यु लगाइएको छ र इन्टरनेट काटिएको छ। मुख्यमन्त्री एन. वीरेन सिंहले शनिवार राति राज्यको ‘शान्ति र व्यवस्था’को स्थितिमा सुधार भइरहेको बताएको बीबीसी हिन्दीले जनाएको छ। उनले भने, “कर्फ्यु आंशिक रूपमा हट्ने जानकारी दिन पाउँदा म खुसी छु।” शनिवार राति नै मणिपुर सरकारका सुरक्षा अधिकारी कुलदीप सिंहले भने, “अनुच्छेद ३५५ (केन्द्रलाई कानुनी व्यवस्था कायम राख्न आपत्काल लागु गर्न अधिकार दिने व्यवस्था) राज्यमा लागु गरिएको छैन। केही तत्त्वहरूले भ्रम फैलाएका छन्, उनीहरूलाई कारबाही गरिनेछ ।” छिमेकी राज्यहरूले मणिपुरमा रहेका आफ्ना विद्यार्थीहरूलाई त्यहाँबाट बाहिर निकालेका छन्। पूर्वोत्तर राज्य मणिपुर म्यान्मारको सीमा नजिकै पर्छ।

कारण

राज्यमा कम्तीमा ५० प्रतिशतको सङ्ख्यामा रहेका मैतेई समुदायका सदस्यहरूले कैयौँ वर्षदेखि अनुसूचित जनजाति (एसटी) कोटीमा समावेश गर्न माग गर्दै आएका थिए। भारतमा जागीर, क्याम्पस भर्ना र सरकारका सबै तहमा उक्त वर्गमा पर्ने समुदायका लागि निश्चित कोटा छुट्याइएको छ। विगतदेखि नै ती समुदायलाई समान अवसरबाट वञ्चित गरिएको भन्दै त्यस्तो व्यवस्था गरिएको बताइने गरेको छ। नयाँ पहिचानले मैतेईहरूलाई वनको केही भूभागमा पहुँच सुनिश्चित गर्छ। साथै समानुपातिक हिसाबले सरकारी जागिर र शैक्षिक संस्थामा स्थान सुरक्षित गर्नेछ। अन्य आदिवासीहरू भने जङ्गलमा रहेका आफ्ना घरहरूमा नियन्त्रण नहुने भन्दै चिन्तित पाइन्छन्।

एक अर्कालाई दोष

सेनाले अवस्थालाई आफूले नियन्त्रणमा ल्याइरहेको बताए तापनि हिन्दु-राष्ट्रवादी दल भारतीय जनता पार्टी नेतृत्वको राज्य सरकारलाई हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लगाइएको छ। गत बिहीवार पहाडी जिल्लाहरूबाट आएका हजारौँ आदिवासीहरू ल ट्राइबल स्टुडेन्ट्स युनियनद्वारा आयोजित एक र्‍यालीमा सहभागि भएर विरोध जनाएका थिए। जसको एक दिनपछि त्यस्तै एक र्‍याली हिंसक बन्यो अन्य जिल्लाहरू समेत हिंसाको मारमा परेका छन्। दुवै पक्षले एक अर्कालाई अस्थिरताका लागि दोष दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement