लबी-सर्दोङ बन्यो उत्तर सिक्किममा कफी खेती शुरु गर्ने पहिलो गाउँ

Untitled-1-copy-60

गान्तोकः उत्तर सिक्किमको काबी लुङ्चोक निर्वाचन क्षेत्रमा पर्ने लबी-सर्दोङ गाउँ अब चाँडै कफी खेती र ग्रामीण पर्यटनको नयाँ गन्तव्य बन्नेछ। गाउँको अर्थतन्त्रका लागी मेरुदण्डको रूपमा रहेको अलैंची खेती रोगले नष्ट भएपछि बाँझो बनेको जमिनलाई प्रयोगमा ल्याउँदै यस गाउँमा कफी खोतीको थालनी गरियो। आगामी एक महिनाभित्र पाँच हजार कफीका विरुवा लगाउने लक्ष्यका साथ आज आइतवारदेखि स्थानीय मानिसहरूले हरित उत्सवको शुभारम्भ गरे, जसमा गाउँका सबै मानिसहरूलाई नयाँ खेतीमा संलग्न गराउने उद्देश्य रहेको छ। महिनाव्यापी हरित उत्सवले सिक्किम सरकारले शुरु गरेको मेरो रुख मेरो सन्तति अभियानलाई पनि टेवा दिनेछ। लबि-सर्दोङ गाउँको नरेम चु वेल्फर एसोसिएशनले यस अभियानलाई अघि बढाउने जिम्मेवारी उठाएको छ जसलाई सफल बनाउन सिक्किम सरकारको वन विभाग र बर्मेक कफी कम्पनीले तकनिकी लगायतका अन्य आवस्यक सहयोग प्रदान गर्नेछ। यस गाउँमा कफी खेती गर्नका लागि माटो परीक्षण भइसकेको छ।

क्षेत्र विधायक तथा वन विभागका मन्त्री कर्मा लोडे भोटिया, वन विभागका अधिकारी र स्थानीय मानिसहरूको संलग्नतामा आइतवारदेखि शुरु भएको हरित उत्सवको क्रममा लेप्चा बुङ्थिङद्वारा प्रकृतिको पूजा आरधना र लोक कलाकारहरूद्वारा नाचगानका साथ कफी विरुवा रोप्ने कार्यको थालनी भयो। विकल्प खेतीको रूपमा कफी लगाउने कार्यसितै स्थानीय गाउँलाई हिमालयन बेम्बो भिलेजका रूपमा परिचित गराउने स्थानीय मानिसहरूको अर्को अभियान रहेको छ जस अन्तर्गत प्रकृति आधारित ग्रामीण पर्यटनलाई आयश्रोतको थप माध्यम बनाउने लक्ष्य राखिएको छ। यसका लागि मानिसहरूले २०२७ सम्मको एउटा रोडम्याप तयार गरेका छन्। आगामी एक महिनामा पाँच हजार कफीका विरुवा लगाइसकेपछि गाउँलेहरूले २७ सेप्टेम्बर, 2२०२३ मा यो गाउँलाई विश्व पर्यटन मानचित्रमा हरित ग्रामको पहिचान दिलाउन अन्तरराष्ट्रिय स्तरको ट्रेल रन आयोजना गर्ने तयारी गरिरहेका छन्। २०२४ भित्र लबी-सर्दोङ गाउँलाई कार्बोन रहित पर्यटन गन्तब्य साथै आथित्य सत्कारको क्षेत्रमा हिमालयन बेम्बो भिलेजका रूपमा परिचित गराउने अनि २०२७ मा लबीमा पहिलो हिमालयन अर्गेनीक कफी फेस्ट आयोजन गर्ने प्रतिवद्धता लिएर काम शुरु गरेको स्थानीय मानिसहरूले जानकारी दिएका छन्। लबी-सर्दोङका मानिसहरूको नयाँ अभियानलाई सफल बनाउन वन विभागको पक्षबाट हुनसक्ने सबै प्रकारको सहयोग दिइने मन्त्री कर्मा लोडे भोटियाले आश्वासन दिएका छन्। उनले यस गाउँको वरिपरी ट्रेल रन लगायतका सहासिक तथा पर्यामैत्री पूर्वाधार विकासका लागि डिपिआर तयार पार्न विभागीय अधिकारीहरूलाई निर्देश पनि दिएका छन्। उत्तर सिक्किममा कफी खेती शुरु गर्ने लबी-सर्दोङ पहिलो गाउँ भएको छ भन्ने अन्य गाउँमा पनि यसको सम्भावनाबारे अध्ययन गरेर विभागले पहल शुरु गर्ने मन्त्रीले बताए।

About Author

Advertisement